Logo

शुक्रवार, भाद्र २६ गते २०८३

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, तयारी तीव्र

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, तयारी तीव्र

जोईन खबर

२५, श्रावण २०८३
  • 289
    SHARES
  • कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, तयारी तीव्र

    २५ साउन काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ।

    images

    काठमाडौंमा साउन २९ गतेदेखि ३१ गतेसम्म तीन दिन सञ्चालन हुने भेलामा सातै प्रदेशका सभापति, ७७ वटै जिल्ला सभापति तथा १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापतिलाई सहभागी हुन पत्राचार गरिएको छ।

    भेला प्रचार–प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो। उनले सम्बन्धित नेताहरूलाई आफैं सहभागी हुन तथा आफ्नो क्षेत्रका वर्तमान र पूर्व पार्टी नेतृत्वलाई समेत भेलामा सहभागी गराउन आग्रह गरिएको जानकारी दिए।

    निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहसँग जोडिएका नेताहरूको पहलमा हुन लागेको भेलामा महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री, सांसद तथा प्रदेश र स्थानीय तहका पार्टी पदाधिकारीलाई समेत सहभागी गराउने तयारी गरिएको छ।

    त्यस्तै, महानगरपालिका, नगरपालिका तथा गाउँपालिका तहका पार्टी सभापतिहरूलाई समेत भेलामा सहभागी गराउन सम्बन्धित नेतृत्वलाई आग्रह गरिएको छ।कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको पछिल्लो आन्तरिक अवस्था, संगठनको सुदृढीकरण, नेतृत्व तथा कार्यकर्ताबीचको सम्बन्ध र आगामी राजनीतिक रणनीतिका विषयमा भेलामा व्यापक छलफल गर्ने तयारी गरेको छ।

    भेलामार्फत पार्टीको तल्लो तहबाट आएका सुझाव तथा गुनासोलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने र आगामी राजनीतिक चुनौती सामना गर्न आवश्यक रणनीति तय गर्ने उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ।

    तीन दिनसम्म चल्ने भेलामा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन विस्तार तथा सुदृढीकरण र आगामी दिनमा कांग्रेसले अवलम्बन गर्नुपर्ने राजनीतिक रणनीतिका विषयमा सहभागी नेताहरूबीच छलफल हुने बताइएको छ।

    प्रकाशित मिति :श्रावण २५, २०८३ सोमवार - ११:४७:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको