२५ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले संसद्मा बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले दशकौँदेखि मधेसी समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपेक्षा तथा दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायमाथि हुने विभेदबारे गम्भीर बहस हुनुपर्ने बताए।
‘सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो, तर बहस अर्को तिर मोडिएको छ,’ उनले भने, ‘दशकौँदेखि मधेसीलाई हेर्ने कालो नजर, कर्णाली र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि बहस हुनुपर्ने थियो। तर आज संसद्मा बहस कालो चस्मामाथि सीमित भइरहेको छ।’
यादवले हटाउनुपर्ने ‘कालो चस्मा’ नभई मानिसको मनमा बसेको विभेदकारी सोच भएको बताए।उनले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको उदाहरण दिँदै भने, ‘बीपी कोइराला पनि कालो चस्मा लगाउनुहुन्थ्यो, तर उहाँको सोच कालो थिएन। दृष्टिकोण साँघुरो थिएन।’
‘हटाउनुपर्ने त्यो कालो चस्मा होइन, मनमा बसेको त्यो कालो सोच हो,’ उनले भने, ‘मधेसीमाथि हेर्ने कालो सोच छ, दलितमाथि हेर्ने कालो सोच छ। त्यो हटायो भने मात्र हाम्रो देश समृद्धिको दिशातर्फ अगाडि बढ्न सक्छ।’
सांसद यादवले मधेसी, दलितलगायत समुदायप्रति रहेको विभेदपूर्ण मानसिकता अन्त्य नगरेसम्म मुलुक समृद्धिको दिशामा अघि बढ्न नसक्ने बताए।उनले राज्य र समाजमा रहेको विभेदकारी दृष्टिकोण परिवर्तन गर्दै सबै समुदायलाई समान अधिकार र सम्मानको व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।