२५ साउन काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो गुन तिर्न बाँकी रहेको बताएका छन्।
सिंहदरबारमा सोमबार पत्रकारहरूसँगको भेटमा प्रचण्डले लामिछानेको राजनीतिक परिपक्वताको प्रशंसा गर्दै विगतमा आफूले उनको पक्षमा बोलेको र बचाउ गरेको स्मरण गरे।
‘तुलनात्मक रूपमा राजनीतिक परिपक्वता रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छ,’ प्रचण्डले भने, ‘फेरि मेरो त गुन तिर्नुपर्ने पनि छ।’
प्रचण्डले विगतमा आफूले लामिछानेको पक्षमा संसददेखि सार्वजनिक रूपमा समेत बचाउ गरेको दाबी गरे। आफू लामिछानेलाई जेलमा भेट्न गएको र बाहिर आएर समेत उनको पक्षमा बोलेको उनले बताए।
‘मैले धेरै डिफेन्स गर्या छु नि त, पहिलाको संसदमा, पब्लिकमा। जेलमा भेट्न पनि गएँ, बाहिर आएर बोलेँ,’ उनले भने।
प्रचण्डले प्रधानमन्त्रीबाहेक रास्वपाका अन्य नेताहरूसँग आफ्नो नियमित संवाद भइरहेको पनि बताए। लामिछाने, डीपी अर्याल र विराजभक्त श्रेष्ठ आफ्नो मन्त्रिपरिषद्मा बसेकाले उनीहरूलाई बुझ्न आफूलाई सहज रहेको उनको भनाइ थियो।
‘रवि लामिछाने, डीपी अर्याल र विराजभक्त सबै मेरो क्याबिनेटमै बसेकोले उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन,’ प्रचण्डले भने, ‘उहाँहरूलाई भन्न पनि गाह्रो छैन। मेरो रेगुलर नै संवाद भइराखेको छ। कैयौँ सल्लाह मिली पनि राखेको छ। प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन्।’
संविधान संशोधन कार्यदलप्रति प्रचण्डको आपत्ति
प्रचण्डले बालेन शाह नेतृत्वको सरकारले गठन गरेको संविधान संशोधन कार्यदलप्रति पनि प्रश्न उठाएका छन्। उक्त कार्यदलले संविधान संशोधनभन्दा पनि संविधान पुनर्लेखन गर्ने उद्देश्य राखेर काम गरेको उनको दाबी छ।
संविधानको प्रस्तावनादेखि नै पुनर्लेखन गर्न खोजेको आभास पाएपछि विपक्षी दलहरूले कार्यदल छाडेको प्रचण्डले बताए।
उनले वर्तमान सरकार राजनीतिक तथा वैचारिक रूपमा दिशाविहीन रहेको टिप्पणीसमेत गरे। सरकारलाई उनले ८८समुद्रमा कम्पास हराएको जहाज’८८सँग तुलना गरे।
‘सरकार आफैँ अपरिपक्व छ। आफैँ वैचारिक, राजनीतिक दिशाविहीन छ। त्यो समुद्रमा कम्पास हराएको जहाजजस्तो भएको हुनाले धेरै जाँदैन,’ प्रचण्डले भने, ‘यही तरिकाले जान सक्दैन। फेरि त्यहाँभित्र अन्तरविरोध पनि देखिएकै छ।’
रास्वपामा पुराना दलका सांसद रहेको भन्दै प्रचण्डको व्यंग्य
रास्वपाभित्र पुराना राजनीतिक दलबाट आएका धेरै सांसद रहेको भन्दै प्रचण्डले व्यंग्यात्मक टिप्पणी गरे। उनले रास्वपामा माओवादी, एमाले र कांग्रेस पृष्ठभूमिका धेरै सांसद रहेको दाबी गरे।
‘मैले त अलिअलि ठट्टा गरेर भन्ने गर्छु, रास्वपामा हामी माओवादीले पनि २३ जना पठाइदिएका छौँ,’ प्रचण्डले भने, ‘एमालेले २७ जना कि कति पठाएको छ, कांग्रेसले ३३ जना पठाएको छ।’
उनले संविधान निर्माणपछि सरकार बनाउने र गिराउने विषयमा दलहरूको बढी ध्यान केन्द्रित हुँदा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताए।
रास्वपालाई मत दिनेमा पश्चाताप भएको दाबी
प्रचण्डले पछिल्लो समय रास्वपालाई मतदान गरेका जनतामा पश्चाताप उत्पन्न भएको दाबीसमेत गरे। उनले पछिल्लो राजनीतिक घटनाक्रमले जनतामा नयाँ दल र नेतृत्वप्रतिको अपेक्षामाथि पुनर्विचार गर्ने अवस्था आएको संकेत गरे।
रास्वपा र त्यसका नेताहरूसँग आफ्नो संवाद निरन्तर रहेको बताउँदै प्रचण्डले आगामी राजनीतिक परिस्थितिबारे आफूहरूबीच छलफल र सल्लाहसमेत हुने गरेको बताएका छन्।