२७ साउन काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको छ। साउन २९ गतेदेखि आयोजना हुने राष्ट्रिय भेलाका लागि इतर समूहले पार्टी प्यालेस बुकिङ गरेको हो।
इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला गर्ने निर्णय भएको छ। उनका अनुसार भेला तीन दिनसम्म सञ्चालन हुनेछ।
राष्ट्रिय भेलामा कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहने बताइएको छ। इतर समूहले भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता हुने अनुमान गरेको छ।
यसैबीच कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री देउवा बिहीबार दिउँसो १२ः३० बजे काठमाडौं आइपुग्ने भएका छन्।जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि विदेश गएका थिए। उनी फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि भन्दै चैत ७ गते २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए।
देउवा काठमाडौं फर्किएसँगै कांग्रेसभित्रको राजनीतिक गतिविधि थप सक्रिय हुने देखिएको छ। इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीभित्र आफ्नो धारणा र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।