२७ साउन काठमाडौं । प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार एक युवतीले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंमा श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी परेको थियो।
साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा नाम जोडिएकी युवतीले आफ्नो गोपनीयता उल्लंघन भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।
जाहेरी परेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर प्रकाशित सामग्री, जाहेरीमा उल्लेखित विषय तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धानका क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। श्रेष्ठलाई कुन कानुनी व्यवस्थाअन्तर्गत थप प्रक्रिया अघि बढाइन्छ भन्ने विषय अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।