Logo

शुक्रवार, भाद्र २६ गते २०८३

अविरल वर्षापछि देशभर सडक अवरुद्ध, विभिन्न राजमार्गमा यातायात प्रभावित

अविरल वर्षापछि देशभर सडक अवरुद्ध, विभिन्न राजमार्गमा यातायात प्रभावित

जोईन खबर

२९, श्रावण २०८३
  • 295
    SHARES
  • अविरल वर्षापछि देशभर सडक अवरुद्ध, विभिन्न राजमार्गमा यातायात प्रभावित

    २९ साउन काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा राजमार्ग र सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा आवागमन अवरुद्ध भएको जनाएको छ।

    images

    प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ।

    त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। उक्त सडकमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालन गर्न नदिइएको प्रहरीले जनाएको छ।

    इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सो स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकुमा ढुङ्गा, माटो तथा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्गको आवागमन प्रभावित भएको छ।

    रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण अवरुद्ध भएको छ।

    रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र भूमे गाउँपालिका–५ धौलापहिरास्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। लमजुङमा पनि दुई प्रमुख सडक अवरुद्ध भएका छन्। मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग र बेँसीसहर नगरपालिका–६ खरखरे भीरस्थित बेँसीसहर–मनाङ सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।त्यस्तै, म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैँसेरी र अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो जाँदा बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    लगातारको वर्षाका कारण सडक तथा राजमार्गमा बाढी, पहिरो र सडक भासिने क्रम बढेकाले प्रहरीले यात्रु तथा चालकलाई यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त सडकखण्डमा आवश्यकताअनुसार यातायात सञ्चालनमा रोक लगाउन सकिने भएकाले यात्राअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

    प्रकाशित मिति :श्रावण २९, २०८३ शुक्रवार - १०:३८:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको