२९ साउन काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। भट्टले शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष नेकपा र नेकपा एमालेको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुखले शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका थिए।तोकिएको समयभित्रै भट्टले एमालेको समर्थनसहित दाबी पेस गरेका हुन्। अब प्रदेश प्रमुख मियाँले भट्टलाई सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।
नेकपाका एक सांसदका अनुसार मुख्यमन्त्रीमा नियुक्त भएपछि भट्टले शुक्रबार नै शपथ लिने तयारी छ। उनका अनुसार दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ।मुख्यमन्त्री बनेलगत्तै भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। सत्ता साझेदार नेकपा र एमालेबीच सुदूरपश्चिममा मन्त्रालय भागबन्डासमेत यसअघि नै टुंगो लागिसकेको छ।
भागबन्डाअनुसार नेकपाले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय र एमालेले तीनवटा मन्त्रालय पाउने सहमति भएको छ। एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषिमध्ये एउटा मन्त्रालयको नेतृत्व गर्ने स्रोतले जनाएको छ।यसअघि ३१ असारमा एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तासँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए। प्रदेशसभामा राजीनामाको घोषणा गरेलगत्तै उनले प्रदेश प्रमुख मियाँसमक्ष राजीनामा बुझाएका थिए।
शाहको राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सोहीअनुसार नेकपा र एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।भट्ट मुख्यमन्त्री बनेसँगै सुदूरपश्चिममा नयाँ सत्ता समीकरण कार्यान्वयनमा आउने भएको छ। अब प्रदेश सरकारको नेतृत्वसँगै मन्त्रालय बाँडफाँट र नयाँ मन्त्रिपरिषद्को गठनलाई चासोका साथ हेरिएको छ।