३१ साउन काठमाडौं । नेपाली कांग्रेसको इतर समूहद्वारा आयोजित तीनदिने राष्ट्रिय भेलाको समापन सत्रमा धर्मको विषयलाई लिएर शीर्ष नेताहरूबीच सार्वजनिक रूपमै विवाद देखिएको छ। भेलाले पारित गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा। प्रकाशशरण महतबीच भनाभन हुनुका साथै निर्णय लेखिएको कागज खोसाखोससमेत भएको हो।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित समापन समारोहमा भेलाका निर्णयहरू वाचन गर्ने तयारी भइरहेका बेला दुई नेताबीच विवाद भएको थियो। विवादको मुख्य कारण भेलाबाट पारित गरिने प्रस्तावमा समेटिएको धर्मसम्बन्धी शब्दावली रहेको बताइएको छ।
डा। प्रकाशशरण महतले तयार पारेको निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखिएको थियो। तर, पूर्वउपसभापति निधिले उक्त शब्दावलीप्रति असहमति जनाउँदै त्यसलाई परिमार्जन गरी सिधै ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान राखेका थिए।
यही विषयमा दुई नेताबीच कुरा नमिलेपछि कार्यक्रमको प्रत्यक्ष प्रसारण भइरहेकै समयमा केहीबेर विवाद चर्किएको थियो। विवाद बढ्दै जाँदा दुवै नेताले निर्णय लेखिएको कागज एकअर्काबाट खोस्ने प्रयास गरेका थिए। मञ्चमै शीर्ष नेताहरूबीच भनाभन र कागज खोसाखोस भएपछि केहीबेर वातावरण असहज बनेको थियो।
विवाद चर्किएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। देउवाको निर्देशनपछि अन्ततः डा। महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा वाचन गरिएको थियो।
यसअघि समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको र सनातन धर्म मान्ने भए पनि सबै धर्मको सम्मान गर्ने धारणा व्यक्त गरेका थिए। धर्मको विषयमा आफ्नो व्यक्तिगत आस्था र सबै धर्मप्रतिको सम्मानलाई अलग ढंगले बुझ्नुपर्ने उनको भनाइ थियो।देउवाले आफ्नो सम्बोधनपछि यस विषयमा थप प्रष्टीकरणसमेत दिएका थिए। उनले व्यक्तिगत धार्मिक आस्था आफ्नो निजी विषय भए पनि राज्य र समाजमा सबै धर्म तथा धार्मिक आस्थाको सम्मान हुनुपर्ने धारणा राखेका थिए।
कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलामा पार्टीको आन्तरिक संगठन, नेतृत्व, समसामयिक राजनीतिक परिस्थिति तथा वैचारिक विषयमा समेत छलफल भएको थियो। तर, समापनका क्रममा धर्मसम्बन्धी एउटा वाक्यलाई लिएर शीर्ष नेताहरूबीच मञ्चमै विवाद र खोसाखोस भएपछि उक्त घटना भेलाको चर्चाको मुख्य विषय बनेको छ।