३१ साउन काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला पाँचबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भेलाले पार्टीको आगामी १५औँ महाधिवेशन, राष्ट्रिय एकता तथा मेलमिलाप, धार्मिक पहिचान, संविधान संशोधनलगायतका विषयलाई समेटेर प्रस्ताव पारित गरेको हो।
भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विश्वाससमेत भेलाले व्यक्त गरेको छ।
महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका नियमित गतिविधिहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने निर्णय भेलाले गरेको छ। पार्टीभित्र देखिएका असहमति र विवादलाई संवादमार्फत समाधान गर्दै महाधिवेशनलाई व्यवस्थित र एकताबद्ध रूपमा सम्पन्न गर्नेमा जोड दिइएको छ।
त्यस्तै, भेलाले २०३३ सालमा जननायक बीपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई पुनः स्मरण गरेको छ। वर्तमान असहज राजनीतिक परिस्थितिमा राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ बनाउन सबै लोकतन्त्रवादी शक्तिहरूसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय गरिएको छ।
भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्तावसमेत पारित गरेको छ। हिन्दु, बौद्ध, किराँत तथा प्राकृत धर्म र संस्कृतिको संरक्षण गर्ने दायित्वलाई आत्मसात् गर्दै धार्मिक स्वतन्त्रता तथा सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ।
नेपालको सनातन धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय प्रस्तावमा समेटिएपछि यो निर्णयलाई भेलाको महत्वपूर्ण राजनीतिक तथा वैचारिक निर्णयका रूपमा हेरिएको छ। सबै धर्म र आस्थाको सम्मान गर्दै धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने विषयमा पनि भेलाले जोड दिएको छ।
त्यसैगरी, वर्तमान संविधानमा देखिएका कतिपय अस्पष्टता तथा जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संवैधानिक संशोधनका लागि कांग्रेसले पहल गर्ने निर्णय गरेको छ। संविधानमा व्यवस्था भएबमोजिम सबै पक्षसँग संवाद गरी आवश्यक निकास खोज्ने प्रस्ताव भेलाले पारित गरेको हो। भेलाले राष्ट्रियता, लोकतन्त्र, पार्टी एकता, धार्मिक तथा सांस्कृतिक पहिचान र संविधान संशोधनजस्ता विषयलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई आगामी दिनमा थप सशक्त र एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
तीन दिनसम्म चलेको राष्ट्रिय भेलामा पार्टीको वर्तमान अवस्था, आगामी महाधिवेशन, मुलुकको राजनीतिक परिस्थिति तथा कांग्रेसले लिनुपर्ने वैचारिक र राजनीतिक दिशाबारे व्यापक छलफल भएको थियो। छलफलपछि पाँचबुँदे प्रस्ताव पारित गर्दै भेला सम्पन्न भएको हो।