३१ साउन काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई लक्षित गर्दै भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द हुने भएको छ। म्यानपावर व्यवसायीहरूले आफ्ना कार्यालय बन्द गर्नुका साथै भिसा लागिसकेका श्रमिकलाई समेत विदेश नउडाउने निर्णय गरेका छन्।
व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलनस्वरूप वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा ठप्प पार्ने घोषणा गरेका हुन्। यस निर्णयसँगै विदेश जाने तयारीमा रहेका र भिसा प्राप्त गरिसकेका हजारौँ श्रमिक प्रभावित हुने देखिएको छ।
म्यानपावर बन्द भएपछि नयाँ श्रम स्वीकृति, वैदेशिक रोजगारीका लागि आवश्यक प्रक्रिया तथा विदेश प्रस्थानसँग सम्बन्धित कामसमेत प्रभावित हुनेछन्। भिसा लागिसकेका श्रमिकलाई समेत नउडाउने निर्णयले रोजगारीका लागि लामो समयदेखि तयारी गरिरहेका श्रमिक थप अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ।
व्यवसायीहरूले सरकारले आफ्ना मागप्रति गम्भीरता नदेखाए आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्। यता, म्यानपावर बन्द गर्ने निर्णयका कारण वैदेशिक रोजगारीको क्षेत्रमा पर्ने प्रभाव र श्रमिकको हितमा सरकारले चाल्ने कदमबारे भने चासो बढेको छ।