१ भन्दौ काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द गर्ने भएको छ। सरकारले व्यवसायीहरूले अघि सारेका माग सम्बोधन गर्न दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि संघले वैदेशिक रोजगारीमा श्रमिक पठाउने कामसमेत रोक्ने निर्णय गरेको हो।
संघले सेवा शुल्क परिमार्जनलगायत १५ बुँदे माग अघि सारेको छ। ती माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले देशभर रहेका म्यानपावर कार्यालय बन्द गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया ठप्प पार्ने घोषणा गरेका हुन्।
संघका अध्यक्ष डिकबहादुर खत्रीले वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढाइरहेको जानकारी दिए। उनका अनुसार सरकारसँग वार्ताको प्रयास जारी रहे पनि माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम निरन्तर अघि बढाइनेछ।‘युवा, श्रम तथा रोजगार मन्त्रालयमा छलफलका लागि अहिले हामी जाँदैछौं,’ अध्यक्ष खत्रीले भने।
शुक्रबार पनि व्यवसायी र मन्त्रालयबीच प्रारम्भिक चरणको छलफल भएको थियो। छलफलमा व्यवसायीहरूले आफूहरूले अघि सारेका मागबारे मन्त्रालयका अधिकारीहरूलाई जानकारी गराउँदै आफ्नो धारणा राखेका थिए। त्यसक्रममा मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्य विवरणबारे अधिकारीहरूले समेत धारणा राखेका थिए।
संघले गत ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरी सरकारसमक्ष १५ बुँदे माग अघि सारेको थियो। व्यवसायीहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई बुझाउनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायतका माग राखेका छन्।
व्यवसायीहरूले लामो समयदेखि सेवा शुल्कलगायतका विषयमा आफूहरू समस्यामा परेको दाबी गर्दै आएका छन्। सरकारले माग सम्बोधन नगरेपछि बाध्य भएर कार्यालय बन्द तथा श्रमिक पठाउने काम रोक्ने निर्णय गर्नुपरेको संघको भनाइ छ।
म्यानपावर व्यवसायीको आन्दोलनका कारण वैदेशिक रोजगारीको तयारीमा रहेका नेपाली श्रमिक प्रभावित हुने भएका छन्। विशेषगरी भिसा प्राप्त गरिसकेका तथा विदेश उड्ने तयारीमा रहेका श्रमिकको प्रस्थानसमेत प्रभावित हुन सक्ने देखिएको छ।यद्यपि, सरकार र व्यवसायीबीच वार्ता जारी रहेकाले छलफलबाट सहमति जुटेमा आन्दोलनका कार्यक्रम फिर्ता हुन सक्ने सम्भावना पनि रहेको छ। व्यवसायीहरूले भने आफ्ना १५ बुँदे माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।