Logo

शुक्रवार, भाद्र २६ गते २०८३

 ‘चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस्’ : गृहमन्त्री गुरुङ

 ‘चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस्’ : गृहमन्त्री गुरुङ

जोईन खबर

१, भाद्र २०८३
  • 217
    SHARES
  •  ‘चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस्’  : गृहमन्त्री गुरुङ

    १ भन्दौ काठमाडौँ । गोरखाको शहीद लखन गाउँपालिका–९ का स्थानीयवासीले चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न गृहमन्त्री सुधन गुरुङसँग माग गरेका छन्। तर, गृहमन्त्री गुरुङले सरकार गठन भएको केही महिनामै सबै काम पूरा गर्न नसकिने भन्दै असन्तुष्ट मतदातालाई ‘भोट फिर्ता’ लैजान भनेपछि उनको अभिव्यक्ति अहिले चर्चामा आएको छ।

    images

    गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ पूर्वघोषित कार्यक्रमअनुसार हरेक महिना गृहजिल्ला पुग्ने क्रममा शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका मतदातासँग भेटघाट गरेका थिए।आइतबार बेलुका शहीद लखन गाउँपालिका–९ का मतदातासँग भएको भेटघाटमा वडा नम्बर ९ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सचिव खोपेन्द्र लामिछानेलगायत सहभागी थिए।

    भेटघाटका क्रममा रास्वपा वडा सचिव लामिछानेले चुनावका बेला गाउँ आउँदा गुरुङले स्थानीयस्तरमा प्रयोगशाला (ल्याब) सञ्चालनका लागि बजेट छुट्याउने प्रतिबद्धता जनाएको स्मरण गराए। गुरुङले त्यसमा सहमति जनाए पनि प्रतिबद्धताअनुसार बजेट विनियोजन नभएको भन्दै प्रश्न उठाइएको थियो।प्रश्नकर्ताले चुनावका बेला आफूहरूले गरेको प्रतिबद्धता सम्झाउँदै मन्त्रालयका सचिवलाई समेत फोन गरेको र आगामी बजेटमा ल्याबका लागि बजेट व्यवस्था गर्ने बताएको स्मरण गराएका थिए।

    जवाफमा गृहमन्त्री गुरुङले स्थानीयस्तरबाट माग गरिएका विभिन्न योजना र बजेटको सूची संकलन भइरहेको बताए। उनले धेरै साना–साना बजेटका मागलाई एकैपटक समेट्न कठिन हुने आशय व्यक्त गर्दै आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरिने बताए।

    तर स्थानीयले भने चुनावका बेला गरिएको वाचा पूरा नभएको भन्दै दबाब दिएका थिए। एक सहभागीले गाउँमा स्थानीयको दबाब निकै बढेको भन्दै गृहमन्त्रीलाई प्रतिबद्धता पूरा गर्न आग्रह गरेका थिए।त्यसक्रममा गृहमन्त्री गुरुङले सरकार बनेको चार महिनामै सबै क्षेत्रमा कायापलट गर्न सम्भव नभएको बताए। उनले भने, ‘चार महिनामा त फेरि कायापलट गर्न म सक्दिनँ, भोट लिएर जानुस्।’गृहमन्त्रीको उक्त अभिव्यक्तिपछि कार्यक्रममा सहभागीहरू हाँसेको भिडियोमा देखिन्छ। त्यसपछि एक सहभागीले ‘जिताएर पठाइहालियो, यो कुरा पहिले भन्नुपर्थ्यो नि हजुरले’ भन्दै प्रतिक्रिया दिएका थिए।

    गुरुङले आफू स्पष्ट कुरा गर्ने व्यक्ति भएको बताउँदै आफूलाई विश्वास गर्न नसके नजिताउनसमेत आग्रह गरे। उनले आफूलाई पाँच वर्षसम्म काम गर्ने अवसर दिएर मूल्यांकन गर्नुपर्ने धारणा राखे।उनले सरकारको पहिलो बजेट आएको केही समय मात्रै भएको भन्दै अहिले नै सबै माग पूरा गर्न सम्भव नहुने बताए। ‘चार महिनामा बल्ल १५ दिनर२० दिन भइराछ । अहिले चाहियो भन्दैमा पाइन्छ रु’ भन्दै उनले स्थानीयलाई प्रतिप्रश्न गरेका थिए।

    गृहमन्त्री गुरुङको स्थानीयसँगको उक्त संवादको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। चुनावका बेला गरिएका प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको जवाफदेहिता र सरकारको कार्यसम्पादनबारे बहस भइरहेका बेला गुरुङको अभिव्यक्तिले थप चर्चा पाएको हो।

    प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - १०:३८:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको