२ भन्दौ काठमाडौँ । ग्यास अभाव चर्किएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको छ। ग्यासको सहज आपूर्ति हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै नेविसंघले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकार ग्यास आपूर्तिको समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाउँदै तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्। उनीहरूले बजारमा देखिएको ग्यास अभाव अन्त्य गरी सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
विद्यार्थीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने र कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने माग अघि सारेका छन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको समस्याप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताएका थिए।
नेविसंघका विद्यार्थीहरूले ग्यास अभावका कारण सर्वसाधारण लामो समयसम्म लाइनमा बस्नुपर्ने तथा दैनिक खाना पकाउनेदेखि घरायसी कामकाजसम्म प्रभावित हुने अवस्था आएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेका छन्।
उनीहरूले बजारमा ग्यासको आपूर्ति र वितरण प्रणाली प्रभावकारी बनाउन तथा कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कारबाही गर्नसमेत माग गरेका छन्।सरकारले तत्काल ग्यास अभाव समाधान नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी नेविसंघले दिएको छ। विद्यार्थीहरूले जनताको दैनिक जीवनसँग जोडिएको विषयमा सरकार उदासीन बने आफूहरू थप दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने बताएका छन्।
ग्यास अभावका कारण राजधानीसहित विभिन्न स्थानमा सर्वसाधारण प्रभावित भइरहेका बेला त्रिचन्द्र क्याम्पसअगाडि भएको विद्यार्थी प्रदर्शनले सरकारमाथि आपूर्ति व्यवस्था तत्काल सहज बनाउन दबाब बढाएको छ।