३ भन्दौ काठमाडोँ । गृहमन्त्री तथा गोरखा–१ का सांसद सुधन गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रको आन्तरिक विवाद र असन्तुष्टि संसदमा प्रस्तुत गर्न नहुने बताएका छन्।
रास्वपा सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूसँग आज गरेको अनौपचारिक छलफलमा बोल्दै गृहमन्त्री गुरूङले पार्टीभित्रका असहमति र विवादलाई सदनमा सार्वजनिक नगर्न आग्रह गरेका हुन्। उनले पार्टीका सांसदहरूबीचको विवादले विपक्षीलाई बलियो बनाउने अवस्था सिर्जना हुने भन्दै संयम अपनाउन आग्रह गरे।
गुरूङले पार्टीभित्रका समस्या र असन्तुष्टिबारे सदनमा विरोध गर्नुभन्दा पार्टीकै आन्तरिक छलफलमार्फत समाधान खोज्नुपर्ने धारणा राखेका थिए।‘घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं। विपक्ष बलियो हुन थाल्यो,’ गृहमन्त्री गुरूङले छलफलमा भनेका थिए।
उनले गृह मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो वा समस्या भए आफूलाई प्रत्यक्ष रूपमा भन्दा आफ्ना स्वकीय सचिव जेम्स कार्कीमार्फत राख्न पनि सांसदहरूलाई आग्रह गरेका छन्।
‘सांसदहरूले गृह मन्त्रालयसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउनु, भेट्नुहोला,’ गुरूङले भने।रास्वपाभित्र पछिल्लो समय विभिन्न विषयमा सांसद तथा मन्त्रीहरूबीच असन्तुष्टि र मतभेद देखिन थालेको चर्चाबीच सभापति लामिछानेले मन्त्री तथा सांसदहरूसँग अनौपचारिक छलफल गरेका हुन्। छलफलमा पार्टीको आन्तरिक एकता कायम राख्दै सरकार सञ्चालन तथा संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा समेत कुराकानी भएको बताइएको छ।
गृहमन्त्री गुरूङको भनाइले पार्टीभित्र देखिएका असन्तुष्टिलाई सार्वजनिक रूपमा संसदमा उठाउँदा राजनीतिक रूपमा विपक्षी दललाई फाइदा पुग्न सक्ने उनको बुझाइ रहेको देखिन्छ। उनले पार्टीका आन्तरिक विषयलाई आन्तरिक संयन्त्रबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन