Logo

शुक्रवार, भाद्र २६ गते २०८३

क्यानडाको मुख्य प्रशिक्षकबाट मोन्टी देशाई बाहिरिए, विश्वकप यात्रामा संकट

क्यानडाको मुख्य प्रशिक्षकबाट मोन्टी देशाई बाहिरिए, विश्वकप यात्रामा संकट

जोईन खबर

४, भाद्र २०८३
  • 364
    SHARES
  • क्यानडाको मुख्य प्रशिक्षकबाट मोन्टी देशाई बाहिरिए, विश्वकप यात्रामा संकट

    ४ भन्दौ काठमाडौं । क्यानडा क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पदबाट बाहिरिएका छन्। नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षकसमेत रहेका देशाईले सामाजिक सञ्जालमार्फत क्यानडाको प्रशिक्षक पदबाट आफ्नो बिदाइ भएको पुष्टि गरेका हुन्।

    images

    क्यानडाले गत मे महिनामा दोस्रोपटक देशाईलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। त्यसपछि उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाको घरेलु मैदान तथा स्कटल्यान्डमा भएका दुई त्रिकोणात्मक सिरिजमा टोलीको जिम्मेवारी सम्हालेका थिए।

    तर लिग–२ मा क्यानडाको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन। प्रतियोगितामा चार खेल बाँकी रहँदा क्यानडा शीर्ष चार स्थानभन्दा ६ अंकले पछाडि छ। कमजोर अवस्थाका कारण सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपमा सोझै छनोट हुने सम्भावना कठिन बनेपछि क्यानडा विश्वकप क्वालिफायर प्ले–अफ खेल्ने अवस्थामा पुगेको छ।

    देशाईले आफ्नो बिदाइलाई छोटो तर अर्थपूर्ण अध्यायका रूपमा व्याख्या गरेका छन्। उनले खेलाडी, सहयोगी स्टाफ तथा आफ्नो यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै दिगो सफलता समय, विश्वास, तयारी, बलियो सम्बन्ध र सामूहिक जिम्मेवारीबाट निर्माण हुने विश्वास व्यक्त गरेका छन्।

    देशाईले सामाजिक सञ्जालमा लेखेका छन्, “छोटो अध्याय थियो, तर निकै अर्थपूर्ण। दिगो सफलता समय, विश्वास, तयारी, बलियो सम्बन्ध र सामूहिक जिम्मेवारीबाट निर्माण हुन्छ भन्ने मेरो विश्वास अझ बलियो भएको छ। खेलाडी, सहयोगी स्टाफ र यो यात्रामा साथ दिने सबैलाई धन्यवाद।”

    दुई दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट प्रशिक्षणमा सक्रिय देशाईले यूएई, अफगानिस्तान, नेपाल र क्यानडाको राष्ट्रिय टोली सम्हालिसकेका छन्। विभिन्न देशका टोलीसँग काम गरिसकेका उनले खेलाडीको प्रदर्शन सुधार तथा टोली निर्माणमा विशेष पहिचान बनाएका छन्।

    नेपालमा भने देशाईको कार्यकाललाई विशेष सफल मानिन्छ। उनकै प्रशिक्षणमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट पुनरागमन गर्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो। देशाईकै प्रशिक्षणमा नेपालले सन् २०२४ को टी–२० विश्वकपसमेत खेलेको थियो।

    यसैबीच, क्रिकेट क्यानडाले देशाईको बिदाइ हुनुअघि नै नयाँ प्रशिक्षकको खोजी थालेको देखिएको छ। क्रिकेट क्यानडाले १५ अगस्टमा राष्ट्रिय टोलीको प्रशिक्षक पदका लागि आवेदन खुलाएको थियो। यसले क्यानडाले आगामी विश्वकप यात्रालाई ध्यानमा राख्दै नयाँ नेतृत्व खोजिरहेको संकेत गरेको छ।क्यानडाका लागि अब लिग–२ का बाँकी चार खेल निर्णायक बन्नेछन्। शीर्ष चारमा पुग्ने सम्भावना कमजोर बने पनि क्वालिफायर प्ले–अफमार्फत विश्वकप यात्रालाई निरन्तरता दिने अवसर भने टोलीसँग कायमै रहेको छ।

    प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - ०९:५५:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको