Logo

शुक्रवार, भाद्र २६ गते २०८३

सरल सहयात्री पौडेल बागमतीको आर्थिक मामिला तथा योजना मन्त्री बन्ने, आजै शपथको तयारी

सरल सहयात्री पौडेल बागमतीको आर्थिक मामिला तथा योजना मन्त्री बन्ने, आजै शपथको तयारी

जोईन खबर

४, भाद्र २०८३
  • 334
    SHARES
  • सरल सहयात्री पौडेल बागमतीको आर्थिक मामिला तथा योजना मन्त्री बन्ने, आजै शपथको तयारी

    ४ भन्दौ काठमाडौं । बागमती प्रदेशमा आज गठन हुने नयाँ प्रदेश सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन्। सत्ता साझेदार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच भएको मन्त्रालय बाँडफाँटसम्बन्धी सहमतिअनुसार पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो।

    images

    नेकपाबाट मन्त्री बन्नेमा सिन्धुपाल्चोकका तत्कालीन नेकपा माओवादी पृष्ठभूमिका नेता सरल सहयात्री पौडेलको नाम टुंगिएको नेकपाका नेता तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले जानकारी दिएका छन्।

    ढकालका अनुसार भागबण्डाअनुसार नेकपाले पाउने अर्को एक मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा भने औपचारिक निर्णय भइसकेको छैन। नेकपाभित्र अर्को मन्त्रीका रूपमा माधव नेपाल पक्षकी रमा आले मगरको नाम पनि चर्चामा छ। आले मगर यसअघि युवा तथा खेलकुद मन्त्री भइसकेकी छन्।

    मन्त्रालय भागबण्डाअनुसार नेकपाले करिब एक वर्षदेखि रिक्त रहेको सभामुख पदसहित दुई मन्त्रालय पाउने सहमति भएको थियो। सभामुखका लागि काभ्रेका रत्नप्रसाद ढकालको नाम चर्चामा रहे पनि उनले आफू सभामुख बन्ने विषयमा औपचारिक टुंगो नलागेको र पार्टीभित्र छलफल जारी रहेको बताएका छन्।

    यसअघि राप्रपाबाट सभामुख बनेका भुवनकुमार पाठकले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा सभामुख पदबाट राजीनामा दिएका थिए। त्यसयता बागमती प्रदेशसभाको सभामुख पद रिक्त रहँदै आएको छ। उपसभामुख अप्सरा चापागाईंले भने प्रदेशसभा सञ्चालन गर्दै आएकी छन् र उपसभामुखमा उनैले निरन्तरता पाउने तयारी छ।

    कुन दलले कुन मन्त्रालय पाउने

    एमाले, नेकपा र राप्रपाबीच बुधबार भएको सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, नेकपाले सभामुखसहित दुई मन्त्रालय र राप्रपाले तीन मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको थियो।

    सहमति कार्यान्वयन भए एमालेले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय सम्हाल्नेछ।

    नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने सहमति भएको थियो। तर खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा राप्रपाले समेत दाबी गरेपछि मन्त्रालय भागबण्डामा पुनः छलफलको अवस्था सिर्जना भएको छ।

    नेकपा सांसद ढकालका अनुसार खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय वा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमध्ये एउटा नेकपाले पाउनुपर्ने दाबी गरिएको छ।

    राप्रपाले भने स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय पाउने सहमति भएको एमाले सांसद तथा प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले बताएका छन्।

    ६३ सांसदको समर्थनमा सरकार गठनको दाबी

    बुधबार एमाले, नेकपा र राप्रपाबीच नयाँ सरकार गठनका लागि ६३ जना सांसदको समर्थन रहेको दाबीसहित एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरिएको थियो।

    तर राप्रपा बागमती प्रदेश संसदीय दलले सरकार गठनका लागि दिएको समर्थनलाई पार्टीको केन्द्रीय नेतृत्वले अनधिकृत भन्दै त्यसलाई मान्यता नदिन प्रदेश प्रमुखलाई बुधबार नै पत्राचार गरेको छ।

    राप्रपाभित्रको आन्तरिक विवादका कारण सरकार गठनमा समस्या आउन सक्ने आशंका भइरहेका बेला एमाले र नेकपाका नेताहरूले भने सरकार गठनमा कुनै समस्या नहुने दाबी गर्दै आएका छन्।

    यसैबीच मुख्यमन्त्री किरण थापा मगरसहित मन्त्रीहरूको नियुक्ति तथा शपथ आज बिहीबार अपराह्न ४ बजेपछि गर्ने तयारी गरिएको छ। यद्यपि मन्त्रालय भागबण्डामा उठेका असन्तुष्टि र राप्रपाभित्रको विवादका कारण अन्तिम क्षणमा केही मन्त्रालयको जिम्मेवारी हेरफेर हुन सक्ने सम्भावना पनि देखिएको छ।बागमती प्रदेशमा नयाँ सरकार गठनसँगै लामो समयदेखि रिक्त रहेको सभामुख पद पूर्ति गर्ने प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - ११:३८:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको