४ भन्दाै काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाहरूले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गरेका छन्।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीका लागि हुने खरिद प्रक्रियामा प्रश्न उठाउँदै समितिले माग गरेका कागजात अझै प्राप्त भए–नभएकोबारे जानकारी गराउन समिति सभापतिसँग आग्रह गरे।
समितिको यसअघिको बैठकले प्रहरीको स्रोत–साधन खरिदमा भएका भनिएका अनियमिततासम्बन्धी आवश्यक कागजात १५ दिनभित्र उपलब्ध गराउन प्रहरीसँग माग गरेको थियो। तर, उक्त कागजात प्राप्त भए वा नभएको विषयमा समितिलाई स्पष्ट जानकारी दिनुपर्ने सुनारको भनाइ छ।
सुनारले पछिल्लो समय पनि प्रहरीले करोडौँ रुपैयाँका टेण्डर आह्वान गरिरहेको भन्दै खरिद प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाए। उनले प्रहरीको खरिद प्रक्रियामा आफूले यसअघि उठाएको प्रश्नबाट पछि नहट्ने स्पष्ट पारे।
उनले निश्चित व्यक्तिहरूको प्रभावका कारण प्रहरीको खरिद प्रक्रिया प्रभावित भएको आरोप लगाउँदै भने, ‘निश्चित विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्।’
सुनारले आफूले समितिमा उठाएका विषय र प्रश्नमा आफू दृढ रहेको बताउँदै आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको महसुस भए कानुनी प्रक्रियामा जान चुनौतीसमेत दिए।
उनले भने, ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँकतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उता पट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघरामा म उभिएर जवाफ दिनलाई म तयार छु।’
सुनारले सार्वजनिक लेखा समिति सरकारका कामकारबाही र सार्वजनिक स्रोतको उपयोगबारे निगरानी गर्ने संवैधानिक निकाय भएकाले समितिमा तथ्य र प्रमाणका आधारमा प्रश्न उठाउन पाउनुपर्ने बताए।
उनले समितिमा उपस्थित भएर आफूले उठाएका प्रश्नको जवाफ दिनुपर्नेमा उल्टै व्यक्तिगत रूपमा आरोप–प्रत्यारोप गर्ने प्रवृत्ति उचित नभएको टिप्पणी गरे।‘तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन। सरकारको मानमर्दन गर्न पाइँदैन,’ उनले भने।
प्रहरीको स्रोत–साधन खरिदमा अनियमितता भएको भन्ने आरोपमाथि समितिले माग गरेका कागजात, पछिल्ला टेण्डर तथा खरिद प्रक्रियाको पारदर्शिताबारे थप अध्ययन गर्नुपर्ने देखिएको छ। सुनारले भने आफूले उठाएका प्रश्नको जवाफ तथ्य र कागजातमार्फत आउनुपर्नेमा जोड दिएका छन्।