४ भन्दौ दोहा, कतार । परदेशमा रहेर आफ्नो कर्मसँगै सामाजिक तथा मानवीय सेवामा सक्रिय नेपाली समुदायले फेरि एकपटक उदाहरणीय अभियान सञ्चालन गर्ने भएको छ। ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नारासहित कतारमा बृहत् रक्तदान कार्यक्रम–२०२६ आयोजना हुने भएको हो।
कतारमा स्थापित सातै प्रदेशका नेपाली संस्थाहरूको संयुक्त आयोजनामा हुन लागेको उक्त रक्तदान अभियानले जात, क्षेत्र, भूगोल र व्यक्तिगत पहिचानभन्दा माथि उठेर मानव जीवन बचाउने साझा उद्देश्यमा नेपाली समुदायलाई एकताबद्ध गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम अगस्ट २९, २०२६ शुक्रबार बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म दोहास्थित हमद अस्पताल ब्लड डोनर सेन्टरमा सञ्चालन हुनेछ।
कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज, कर्णाली प्रदेश समन्वय परिषद्, लुम्बिनी प्रदेश समन्वय परिषद्, गण्डकी प्रदेश समन्वय परिषद्, बागमती प्रदेश समन्वय परिषद्, मधेश प्रदेश समन्वय परिषद् र कोशी प्रदेश समन्वय परिषद्, कतारको संयुक्त सहभागिता रहनेछ। कार्यक्रमको समन्वय नेपाली रक्तदाता संघ, कतारले गर्नेछ।
‘एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ’
दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत बिरामीका लागि समयमै उपलब्ध हुने रगत जीवन बचाउने महत्वपूर्ण आधार बन्न सक्छ। यही मानवीय आवश्यकतालाई ध्यानमा राख्दै कतारमा रहेका नेपालीहरूलाई रक्तदान अभियानमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकहरूले बताएका छन्।
आयोजकहरूले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो अमूल्य समय निकालेर रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।‘तपाईंले केही मिनेट दिएर गरेको रक्तदान कसैको जीवनमा वर्षौंको खुसी बन्न सक्छ,’ भन्ने सन्देशसहित आयोजकहरूले रक्तदानका लागि नेपाली समुदायलाई आह्वान गरेका छन्।
सात प्रदेश एकै ठाउँमा
कतारमा रहेका नेपाली समुदायबीच आपसी एकता र सहकार्य बढाउँदै मानवीय सेवामा साझा भूमिका निर्वाह गर्ने उद्देश्यले सातै प्रदेशका संस्थाहरू एकै अभियानमा जोडिएका हुन्।परदेशमा रहेर पनि मातृभूमिप्रतिको माया र मानवीय सेवाको भावना बोकेको नेपाली समुदायले आयोजना गर्न लागेको यो अभियान केवल रक्तदानमा सीमित नभई नेपाली समुदायको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको उदाहरण बन्ने अपेक्षा गरिएको छ।
आयोजकहरूका अनुसार रक्तदानमार्फत कतारको अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुग्नेछ भने नेपाली समुदायले मानवताको सेवामा आफ्नो प्रतिबद्धता पनि प्रस्तुत गर्नेछ।
‘नेपाली जहाँ भए पनि मानवताको पक्षमा उभिन्छन्’ भन्ने सन्देश दिने लक्ष्यसहित आयोजना हुन लागेको बृहत् रक्तदान कार्यक्रममा कतारमा रहेका नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।