५ भन्दौ काठमाडोँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शुक्रबार पोखरा आउने भएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक पोखरा आउन लागेका शाह सडकमार्ग हुँदै पोखरा आउने र त्यसपछि मुस्ताङतर्फ जाने तयारीमा रहेको बताइएको छ।
प्रधानमन्त्री शाहको बसाइका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक भइसकेको छ। रिसोर्ट स्रोतका अनुसार प्रधानमन्त्रीको बसाइका लागि रिसोर्टका सबै कोठा बुक गरिएको छ भने काठमाडौंँबाटै सुरक्षा जाँच तथा आवश्यक प्रबन्ध मिलाउन सुरक्षा टोली अस्ताम पुगिसकेको छ।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणमा जाने कार्यक्रम बिहीबार सार्वजनिक भएको थियो। तर, भ्रमणको विस्तृत कार्यतालिका र प्रधानमन्त्रीले पोखरा तथा मुस्ताङमा गर्ने कार्यक्रमबारे भने अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले आफूले पनि प्रधानमन्त्रीको भ्रमणबारे सञ्चारमाध्यमबाट जानकारी पाएको बताएकी छन्। उनका अनुसार प्रधानमन्त्री मुस्ताङ आउने चर्चा भए पनि जिल्ला प्रशासन कार्यालयमा अहिलेसम्म औपचारिक जानकारी वा कार्यक्रम तालिका प्राप्त भएको छैन।
त्यस्तै, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पनि प्रधानमन्त्री पोखरा आउनेबारे आफूहरूले मिडियामार्फत जानकारी पाइरहेको बताएका छन्। प्रधानमन्त्री स्थलमार्ग हुँदै आउने जानकारी भए पनि भ्रमणको विस्तृत कार्यक्रमबारे औपचारिक जानकारी नआएको उनको भनाइ छ।
प्रधानमन्त्री शाह बस्ने तयारी गरिएको अन्नपूर्ण इको भिलेज विश्व अधिकारी परिवारले सञ्चालन गर्दै आएको रिसोर्ट हो। प्रकृति, ध्यान, योग, परम्परागत वास्तुकला र आतिथ्यतालाई प्राथमिकता दिइएको यो रिसोर्ट माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्ताम क्षेत्रमा अवस्थित छ।
रिसोर्टबाट अन्नपूर्ण, धौलागिरि, मनास्लुलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। परम्परागत शैलीमा ढुंगा र काठ प्रयोग गरी निर्माण गरिएका यहाँका संरचना तथा प्राकृतिक वातावरणका कारण रिसोर्ट पर्यटकमाझ लोकप्रिय रहेको बताइन्छ।
अन्नपूर्ण इको भिलेज वातावरणमैत्री तथा प्रांगारिक अवधारणामा सञ्चालन हुँदै आएको छ। रिसोर्टमा सौर्य ऊर्जा, पानी पुनः प्रयोग गर्ने प्रविधि तथा स्थानीय प्राकृतिक स्रोतसाधनको प्रयोग गरिँदै आएको छ। रिसोर्ट परिसरमै प्रांगारिक फार्म सञ्चालन गरी फलफूल, तरकारी तथा अन्य खाद्यान्न उत्पादन गर्ने गरिएको छ।
शहरबाट नजिकै रहेर पनि ग्रामीण तथा प्राकृतिक वातावरणको अनुभव लिन सकिने भएकाले यो क्षेत्र विदेशी पर्यटकका लागि समेत आकर्षणको केन्द्र बनेको छ। योग, ध्यान तथा प्रकृतिसँग समय बिताउन चाहने पर्यटकहरू यहाँ आउने गरेका छन्।
सूर्योदय र सूर्यास्तको आकर्षक दृश्यसँगै अस्ताम आसपासका डाँडाकाँडा, जंगल तथा स्थानीय गाउँहरूमा छोटो पदयात्रा र हाइकिङ गर्न सकिने भएकाले पनि यो क्षेत्र चर्चित छ।
प्रधानमन्त्री शाहको पोखरा तथा मुस्ताङ भ्रमणका क्रममा हुने भेटघाट, अवलोकन र अन्य कार्यक्रमबारे भने औपचारिक विवरण सार्वजनिक हुन बाँकी छ।