७ भन्दौ काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका लागि प्रारम्भिक प्राविधिक गृहकार्य गर्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न सरोकारवालासँग नीतिगत संवाद थालेको छ।
मन्त्रालयले विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थासँग सम्बन्धित विषयमा छलफल गर्न शिक्षामन्त्री सस्मित पोखरेलको विशेष आतिथ्यतामा परामर्श–गोष्ठी आयोजना गरेको हो। विद्यालय शिक्षा प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित तथा समयानुकूल बनाउने विषयमा सरोकारवालाको सुझाव संकलन गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा बिहान ११ बजेदेखि सुरु भएको गोष्ठी अपराह्न ३ बजेसम्म सञ्चालन हुने बताइएको छ।
गोष्ठीमा विद्यालय व्यवस्थापन, पाठ्यक्रम व्यवस्था तथा विद्यालय शिक्षासँग प्रत्यक्ष सम्बन्धित विभिन्न नीतिगत विषयमा सरोकारवालासँग छलफल गरिनेछ। विधेयकको मस्यौदा तयार गर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाबाट सुझाव लिने र त्यसलाई प्रारम्भिक प्राविधिक गृहकार्यमा समेट्ने मन्त्रालयको तयारी छ।
विद्यालय शिक्षा विधेयकमार्फत विद्यालय शिक्षासम्बन्धी विद्यमान व्यवस्था परिमार्जन तथा सुधार गर्दै शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक नीतिगत आधार तय गर्ने मन्त्रालयको लक्ष्य रहेको छ।
मन्त्रालयले विधेयक निर्माण प्रक्रियालाई सरोकारवालामैत्री बनाउन विभिन्न चरणमा छलफल तथा परामर्श अघि बढाउने जनाएको छ। विद्यालय व्यवस्थापन र पाठ्यक्रमसँग सम्बन्धित आजको गोष्ठी पनि सोही प्रक्रियाअन्तर्गतको महत्वपूर्ण छलफलका रूपमा लिइएको छ।गोष्ठीबाट प्राप्त सुझाव तथा धारणा आगामी विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्दा उपयोग गरिने मन्त्रालयले जनाएको छ।