७ भन्दौ काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्न सभापति गगन थापासँग छलफल गर्ने बताएका छन्।
देउवालाई भेट्न आइतबार बिहान उनको निवास पुगेका डडेलधुराका नेपाली कांग्रेसका पूर्वसभापति कर्ण मल्लसँगको भेटका क्रममा देउवाले पार्टी एकताका लागि सभापति थापासँग छलफल गर्ने बताएका हुन्।
भेटमा मल्लले पार्टीलाई एकताबद्ध बनाएर आगामी १५औँ महाधिवेशनतर्फ अघि बढ्न देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने विषय उठाएका थिए। पार्टीभित्र देखिएका मतभेदलाई अन्त्य गर्दै सबै पक्षलाई समेटेर महाधिवेशन सम्पन्न गर्न देउवाको भूमिका महत्वपूर्ण हुने भन्दै आफूले आग्रह गरेको मल्लले बताए।
मल्लका अनुसार देउवा आफूले राखेको प्रस्तावप्रति सकारात्मक देखिएका थिए। पार्टीभित्र एकता कायम गर्ने विषयमा सभापति गगन थापासँग समेत छलफल गर्ने देउवाले आफूलाई बताएको मल्लले जानकारी दिए।
‘सबैलाई मिलाएर पार्टीको १५औँ महाधिवेशन गर्न उहाँलाई अभिभावकीय जिम्मेवारी निर्वाह गर्न मैले आग्रह गरें,’ मल्लले भने। उनका अनुसार देउवा उक्त विषयमा सकारात्मक देखिएका छन्।
मल्लले देउवालाई भेट्नुको अर्को कारण उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु रहेको पनि बताए। उपचारपछि देउवा निवास फर्किएपछि स्वास्थ्य अवस्था बुझ्न आफू भेट्न गएको मल्लको भनाइ छ।
‘उहाँसँग मेरो राजनीतिक सम्बन्ध विच्छेद भएको थियो। स्वास्थ्य अवस्था बुझ्नका लागि भेट्न गएको थिएँ। स्वास्थ्य ठीक भएको पाएँ,’ मल्लले भने।
मल्ल र देउवाबीच लामो समयदेखि राजनीतिक सम्बन्धमा उतारचढाव रहँदै आएको भए पनि पछिल्लो भेटलाई कांग्रेसभित्रको एकता र आगामी महाधिवेशनका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।
कांग्रेसभित्र विभिन्न विषयमा मतभेद र आन्तरिक विवाद देखिँदै आएको अवस्थामा पूर्वसभापति देउवाले सभापति गगन थापासँग संवाद गर्ने बताएपछि पार्टी एकताको प्रयासले गति लिन सक्ने अपेक्षा गरिएको छ। आगामी १५औँ महाधिवेशनलाई केन्द्रमा राखेर कांग्रेसभित्र विभिन्न तहमा छलफल र संवाद अघि बढ्ने संकेतसमेत यस भेटबाट देखिएको छ।