Logo

शुक्रवार, भाद्र २६ गते २०८३

देउवा–थापा भेट अनिश्चित, कांग्रेस एकता पहलमा ढिलाइ

देउवा–थापा भेट अनिश्चित, कांग्रेस एकता पहलमा ढिलाइ

जोईन खबर

८, भाद्र २०८३
  • 265
    SHARES
  • देउवा–थापा भेट अनिश्चित, कांग्रेस एकता पहलमा ढिलाइ

    ८ भन्दौ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री एवं पूर्वपार्टी सभापति शेरबहादुर देउवासँग भेटका लागि समय मागे पनि हालसम्म भेटवार्ता हुन सकेको छैन। देउवा नेपाल फर्किएको १० दिन बितिसक्दा समेत दुई नेताबीच भेट हुन नसकेपछि कांग्रेसभित्र पार्टी एकता र आन्तरिक विवाद समाधानको पहलमा ढिलाइ भएको चर्चा हुन थालेको छ।

    images

    कांग्रेसभित्र दुई पक्षमा विभाजन देखिएका बेला देउवा नेपाल फर्किएलगत्तै पार्टीलाई एकताबद्ध बनाउन निर्णायक पहल हुने अपेक्षा गरिएको थियो। तर, २८ साउनमा नेपाल फर्किएका देउवासँग सभापति थापाले बिहीबारदेखि भेटका लागि समय मागे पनि आइतबारसम्म समय नपाएका हुन्।

    सभापति थापाले देउवाका स्वकीय सचिव भानु देउवामार्फत भेटका लागि समय मागेका थिए। देउवालाई भेट्न पुगेका विभिन्न कांग्रेस नेताहरूले पनि थापा भेटबारे जिज्ञासा राखेका थिए। उनीहरूका अनुसार देउवाले आफूले चाँडै भेट्ने जवाफ दिएका छन्।

    देउवाका पूर्वस्वकीय सचिवसमेत रहेका डडेलधुराका कांग्रेस नेता कर्ण मल्लका अनुसार देउवाले ‘बोलाउँछु भनेर खबर गरेको छु, बोलाउँदिनँ भनेको छैन’ भन्दै एक–दुई दिनमै समय मिलाएर भेट्ने बताएका छन्।

    पार्टीभित्रका नेताहरूले देउवालाई अहिले अभिभावकीय भूमिका निर्वाह गर्दै कांग्रेसलाई एकताबद्ध बनाउने दिशामा निर्णायक पहल गर्न आग्रह गरिरहेका छन्। उनीहरूले पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई अदालतको निर्णयको प्रतीक्षा गरेर भन्दा पनि आपसी संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

    कर्ण मल्लले पनि आफूले देउवासँग पार्टीभित्रका सबै पक्षसँग छलफल गरी कांग्रेसलाई एकताबद्ध बनाउन भूमिका खेल्न आग्रह गरेको बताए। उनका अनुसार १५औँ महाधिवेशनमा देउवा सबैको अभिभावकको भूमिकामा उपस्थित हुनुपर्ने सुझावसमेत दिइएको छ।

    ‘सबैसँग छलफल गरेर पार्टीलाई एकताबद्ध बनाउन र १५औँ महाधिवेशनमा सबैको अभिभावक भएर उपस्थित हुन मैले पनि आग्रह गरें,’ मल्लले भने, ‘उहाँले पनि एकताका लागि प्रयत्न गरिरहेको छु भनेर भन्नुभएको छ।’

    कांग्रेसभित्र नेतृत्व, संगठन र आगामी महाधिवेशनलाई लिएर आन्तरिक शक्ति संघर्ष तीव्र बनेका बेला सभापति थापा र पूर्वसभापति देउवाबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। दुई नेताबीच संवाद सुरु भए पार्टीभित्र देखिएको ध्रुवीकरण कम गर्न र महाधिवेशनअघि सहमतिको वातावरण बनाउन सहज हुने कांग्रेस नेताहरूको अपेक्षा छ।

    यद्यपि, भेटका लागि समय नजुट्दा पार्टी एकताको विषयमा तत्कालै ठोस पहल हुने सम्भावनाबारे भने अन्योल कायमै छ। अब देउवाले सभापति थापालाई कहिले भेटका लागि बोलाउँछन् भन्ने विषय कांग्रेसभित्र चासोको विषय बनेको छ।

    प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार - १०:३९:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको