Logo

शुक्रवार, भाद्र २६ गते २०८३

उद्धव थापालाई सांसद पदबाट हटाउन राप्रपाको माग, बागमती प्रदेश सभामा विवाद चर्कियो

उद्धव थापालाई सांसद पदबाट हटाउन राप्रपाको माग, बागमती प्रदेश सभामा विवाद चर्कियो

जोईन खबर

८, भाद्र २०८३
  • 181
    SHARES
  • उद्धव थापालाई सांसद पदबाट हटाउन राप्रपाको माग, बागमती प्रदेश सभामा विवाद चर्कियो

    ८ भन्दौ काठमाडौँ । बागमती प्रदेशका निवर्तमान संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभा सचिवालयमा औपचारिक पत्र बुझाएको छ। पार्टीले थापालाई सांसद पदबाट हटाउन माग गरेसँगै कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपसभामुख इन्दिरा चापागाईं र राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङबीच चर्काचर्कीसमेत भएको छ।

    images

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरी सभामुखलाई सम्बोधन गरिएको पत्रमा उद्धव थापाले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत कार्य गरेको उल्लेख गरिएको छ।

    संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि थापाले पार्टीको निर्णयविपरीत आफूखुसी समर्थन जनाएको भन्दै राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले उनलाई कारबाही गर्ने निर्णय गरेको हो। पार्टीले उनलाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गर्नुपर्ने र पार्टीको साधारण सदस्यतासमेत खारेज गरिएको जनाएको छ।

    राप्रपाले संसद् सचिवालयमा बुझाएको पत्रसँगै अनुशासन समितिको सिफारिस, स्पष्टीकरणलगायत आठवटा विभिन्न दस्ताबेजसमेत संलग्न गरिएको बताइएको छ।

    ‘थापालाई पदमुक्त नगरेसम्म संसद् चल्न दिँदैनौँ’

    सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले पार्टीले कारबाही गरिसकेको व्यक्तिलाई सांसदको हैसियतमा स्वीकार गर्न नसकिने बताइन्।उनले उद्धव थापालाई तत्काल प्रदेश सभा सदस्य पदबाट पदमुक्त नगरेसम्म प्रदेश सभाको बैठक चल्न नदिने कडा अडान राखेकी थिइन्। बैठकमा तामाङले भनिन्, ‘उद्धव थापालाई पदमुक्त नगरेसम्म हामी संसद् चल्न दिँदैनौँ।’

    उपसभामुखको जवाफ– कानुनी प्रक्रिया पूरा भएपछि मात्र निर्णय

    राप्रपाको दबाबका बीच उपसभामुख इन्दिरा चापागाईंले भने कानुनी प्रक्रिया पूरा नगरी कुनै पनि निर्णय गर्न नसकिने स्पष्ट पारेकी छन्। उनले पार्टीले बुझाएको पत्र र त्यससँग सम्बन्धित कागजातहरू संसद् सचिवालयमा दर्ता हुने प्रक्रियामा रहेको र कानुनी पक्षको अध्ययनपछि मात्रै आवश्यक प्रक्रिया अगाडि बढाइने बताइन्। बैठकमा उपसभामुख चापागाईंले भनिन्, ‘यो कानुनी कुरा हो, कानुनका साथीहरूले हेरेर प्रक्रियामा अगाडि बढ्छ। तपाईंले ल्याएको डकुमेन्ट संसद् सचिवालयमा दर्ता हुने क्रममा छ।’ कुनै पनि दबाब वा जबर्जस्तीका आधारमा प्रक्रिया अघि नबढ्ने स्पष्ट पार्दै उनले थपिन्, ‘तपाईंहरूले जबरजस्ती गरेर कुनै पनि प्रक्रिया अगाडि बढाउँदिनँ। तपाईंले टाउको फुटाए पनि म अहिले तत्काल गर भनेर मान्दिनँ।’

    प्रमुख सचेतक नै फेरेको घोषणा

    यता, पार्टीको कारबाहीमा परेका उद्धव थापाले भने बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक नै परिवर्तन गरेको घोषणा गरेका छन्। यसले राप्रपाभित्रको विवाद प्रदेश सभा सचिवालयसम्म पुगेको देखिएको छ।

    राप्रपाले आफ्नो निर्णय तत्काल कार्यान्वयन गर्दै उद्धव थापालाई प्रदेश सभा सदस्य पदबाट हटाउन माग गरिरहेको छ। तर प्रदेश सभा सचिवालयले यस विषयलाई कानुनी प्रक्रिया र आवश्यक अध्ययनपछि मात्रै टुंगो लगाइने विषयका रूपमा लिएको छ।राप्रपाको दबाब र उपसभामुखको कानुनी प्रक्रियासम्बन्धी अडानबीच बागमती प्रदेश सभामा नयाँ राजनीतिक तथा संसदीय गतिरोध उत्पन्न हुने संकेत देखिएको छ।

    प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार - १४:०८:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको