८ भन्दौ काठमाडौँ । गोरखा र धादिङको सीमावर्ती क्षेत्रमा रहेको आरुघाट आधारभूत अस्पतालको सेवा विस्तारका लागि दुवै जिल्लाका ६ वटा पालिकाका प्रतिनिधिबीच छलफल भएको छ। ऐतिहासिक आरुघाट बजारमा रहेको अस्पताललाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै स्वास्थ्य सेवा विस्तार गर्न सबै प्रभावित पालिकाले जिम्मेवार भएर सहकार्य गर्ने निष्कर्ष निकालिएको छ।
आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रवीन थापाका अनुसार अस्पतालबाट प्रदान हुँदै आएको आधारभूत स्वास्थ्य सेवालाई विस्तार गर्नुका साथै नसर्ने रोगको उपचार, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा हेमोडायलिसिस सेवा सञ्चालनका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ।
आरुघाट आधारभूत अस्पतालबाट प्रत्यक्ष लाभान्वित हुने धादिङका त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिका तथा गोरखाका भीमसेनथापा, धार्चे र चुमनुब्री गाउँपालिकाका पदाधिकारीसँग अस्पतालको सेवा विस्तारबारे छलफल गरिएको थापाले जानकारी दिए।
उनका अनुसार अस्पतालमा आवश्यक सेवा तथा सुविधा थप गर्न सम्बन्धित सबै गाउँपालिकाले सहयोग र समन्वय गर्ने सहमति भएको छ।
‘आरुघाट बजार बीच भागमा पर्ने हुनाले यहाँको अस्पतालमा धादिङका दुई र गोरखाका तीन गाउँपालिकाका बिरामीहरु सेवा लिन आउँछन्,’ थापाले भने, ‘त्यसैले आरुघाट आधारभूत अस्पतालको सेवा विस्तार गर्न सबै पालिकाहरुले पहल गर्ने निर्णय भएको छ। यसले गर्दा ६ वटै पालिकाका नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छन्।’
"हेमोडायलिसिसदेखि नसर्ने रोगको उपचारसम्म"
छलफलमा आरुघाट अस्पतालबाट आधारभूत स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउने, नसर्ने रोगको उपचारलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित रूपमा कार्यान्वयन गर्ने विषयमा समेत निर्णय भएको छ।
त्यस्तै, मिर्गौलाका बिरामीलाई लक्षित गर्दै अस्पतालमै हेमोडायलिसिस सेवा सञ्चालन गर्न आवश्यक पहल गर्ने सहमति भएको छ। सेवा विस्तारका लागि आवश्यक स्रोत, जनशक्ति र पूर्वाधार व्यवस्थापनमा सम्बन्धित पालिकाले समन्वय गर्ने जनाइएको छ।
"विपन्न तथा असहायलाई निःशुल्क सेवा"
कार्यक्रममा आरुघाट अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरी लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णयसमेत भएको छ।
गाउँपालिकाका अनुसार अति विपन्न, असहाय, कारागारका बिरामी, बेवारिसे बिरामी तथा ज्येष्ठ नागरिकलाई सामाजिक सेवा इकाईमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ। सामाजिक सेवा इकाई स्थापनाका लागि ६ वटै गाउँपालिकाले सहकार्य तथा समन्वय गर्ने निर्णय गरेका छन्।
आरुघाट गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरूको आर्थिक वर्ष २०८२र८३ को वार्षिक समीक्षा कार्यक्रममा आरुघाट आधारभूत अस्पतालको स्तरोन्नति गर्ने विषयमा समेत छलफल गरिएको थियो।
"उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्मानित"
कार्यक्रममा आरुघाट गाउँपालिकाले उत्कृष्ट स्वास्थ्य संस्था र उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ। आर्थिक वर्ष २०८२र८३ मा जनस्वास्थ्य सेवा कार्यक्रमका सूचकहरूको तथ्याङ्कीय कार्यसम्पादनका आधारमा उत्कृष्ट स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी छनोट गरी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
जनस्वास्थ्य सेवा कार्यक्रमका सूचकका आधारमा मान्बु स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गरिएको छ भने आरुपोखरी स्वास्थ्य चौकीमा कार्यरत सरस्वती बोहरा उत्कृष्ट स्वास्थ्यकर्मी घोषित भएकी छन्।
उनीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको आरुघाट गाउँपालिकाले जनाएको छ।
"६ पालिकाबीच स्वास्थ्य सेवामा सहकार्य"
आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको संयोजकत्वमा भएको छलफल तथा असल अभ्याससम्बन्धी साझा सवाल कार्यक्रममा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, भीमसेनथापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नवराज खड्कालगायतको उपस्थिति थियो।
गोरखा र धादिङका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले समेत सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनाउन आरुघाट अस्पतालको स्तरोन्नति महत्वपूर्ण हुने सहभागीहरूले बताएका छन्। ६ वटै पालिकाबीचको सहकार्यबाट अस्पतालमा थप विशेषज्ञ तथा विशिष्टीकृत सेवा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।