९ भन्दौ काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा सञ्जाल ‘काठमाडौं उपत्यका मेयर्स फोरम’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
फोरमका अनुसार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा समाधान गर्न तीनवटै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक छ। फोहोर व्यवस्थापन साझा सरोकारको विषय भएकाले स्थानीय तहहरू समस्या समाधानका लागि निरन्तर प्रतिबद्ध रहेको बैठकले जनाएको छ।
प्रधानमन्त्रीसँग हुने भेटका क्रममा २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत घोर आपत्ति जनाउने निर्णय भएको फोरमले जनाएको छ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाको फोहोर व्यवस्थापनलाई दीर्घकालीन र व्यवस्थित रूपमा समाधान गर्न स्थानीय सरकार सधैं प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। फोहोर व्यवस्थापनसँग जोडिएका संरचनागत समस्या, जग्गाको उपलब्धता, आर्थिक दायित्व तथा अन्य प्रशासनिक विषयमा संघीय सरकारसँग आवश्यक सहकार्य र समन्वय गर्नुपर्नेमा फोरमले जोड दिएको छ।
बैठकले प्रधानमन्त्रीसँगको भेटलाई उपत्यकाको फोहोर व्यवस्थापनसहित स्थानीय तहले भोगिरहेका साझा समस्याको समाधानका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ।