९ भन्दौ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसद्मा कालो चस्मा लगाएर उपस्थित नहुन आग्रह गरेपछि प्रधानमन्त्री शाहले भने आफ्नो स्वास्थ्य अवस्थाका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने भन्दै संसद् सचिवालयलाई जानकारी गराएका छन्।
प्रधानमन्त्री शाहले आफ्नो स्वास्थ्य परीक्षणसम्बन्धी रिपोर्टसमेत संलग्न गरी कालो चस्मा लगाउनुपर्ने कारण स्पष्ट पार्दै संसद् सचिवालयमा पत्र पठाएका हुन्।
प्रधानमन्त्री शाहले उज्यालोमा हेर्न असहज हुने समस्या भएपछि नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा साउन २२ गते आँखा परीक्षण गराएका थिए। परीक्षणपछि प्राप्त रिपोर्टमा उनलाई उज्यालोमा हेर्न कठिनाइ हुने समस्या देखिएको उल्लेख गरिएको छ।
रिपोर्टअनुसार प्रधानमन्त्री शाहको आँखामा सुख्खापनको समस्या समेत देखिएको छ। आँखामा सुख्खापन हुने भएकाले आवश्यकताअनुसार नियमित रूपमा आइड्रप प्रयोग गर्नुपर्ने चिकित्सकीय सुझाव दिइएको जनाइएको छ।
संसद् बैठकमा पोसाक तथा अनुशासनसम्बन्धी विषयलाई लिएर सभामुखले सांसदहरूलाई आवश्यक निर्देशन दिँदै आएका बेला प्रधानमन्त्री शाहले भने आफ्नो स्वास्थ्य अवस्थाका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेका हुन्।
स्वास्थ्यसम्बन्धी रिपोर्टसहित संसद् सचिवालयलाई जानकारी गराएपछि प्रधानमन्त्री शाह आगामी संसद् बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुने तयारीमा छन्। उनको कालो चस्माको विषय संसद् परिसरमा समेत चासोको विषय बनेको छ।