९ भन्दौ दोहा कतार । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर इस्माली समाज काठमाडौंले विशेष तीज मिलन कार्यक्रम आयोजना गर्ने भएको छ।समाजले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई निरन्तरता दिने उद्देश्यसहित ‘तीज विशेष कार्यक्रम–२०८३’ आयोजना गर्न लागेको हो। कार्यक्रममा तीजसँग सम्बन्धित गीत–संगीत तथा नृत्य प्रस्तुति, दर खाने कार्यक्रम, सांस्कृतिक गतिविधि, भेटघाट र शुभकामना आदानप्रदान हुने आयोजकले जनाएको छ।
भदौ २० गते शनिबार काठमाडौंको कलंकीस्थित अम्बेला बैंक्वेटमा आयोजना हुने कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ।इस्माली समाज काठमाडौंका उपाध्यक्ष चुरामणि घिमिरेका अनुसार विशेषगरी गुल्मीको इस्मा गाउँपालिकाबाट काठमाडौंमा आएर बसोबास गरिरहेका इस्माली समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको छ।
उहाँले तीज पर्व तथा नेपाली मौलिक संस्कृतिप्रति आस्था राख्ने सबैलाई समेत कार्यक्रममा उपस्थित भइदिन आग्रह गर्नुभयो।उपाध्यक्ष घिमिरेले तीजको माध्यमबाट समुदायका सदस्यहरूबीच आपसी आत्मीयता, सद्भाव र एकता अझ बलियो बनाउने उद्देश्य रहेको बताउनुभयो।
उहाँका अनुसार नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वसँग जोड्दै सांस्कृतिक पहिचानलाई निरन्तरता दिन यस्ता कार्यक्रम प्रभावकारी हुनेछन्। कार्यक्रमले काठमाडौंमा रहेका इस्माली समुदायलाई एउटै ठाउँमा भेला भएर खुसी साटासाट गर्ने अवसरसमेत प्रदान गर्ने आयोजकको विश्वास छ। लेखक बाबुराम महत