Logo

शुक्रवार, भाद्र २६ गते २०८३

मेडिकल टिम बोकेर नेपाली सेनाको हेलिकप्टर रसुवा बाढी प्रभावित क्षेत्रमा

मेडिकल टिम बोकेर नेपाली सेनाको हेलिकप्टर रसुवा बाढी प्रभावित क्षेत्रमा

जोईन खबर

१०, भाद्र २०८३
  • 229
    SHARES
  • मेडिकल टिम बोकेर नेपाली सेनाको हेलिकप्टर रसुवा बाढी प्रभावित क्षेत्रमा

    १० भन्दौ काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि नेपाली सेनाले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। सेनाको एआई–१७ हेलिकप्टर इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ।

    images

    नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ईएमआरटी बोकेको हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ गएको हो। बाढीबाट प्रभावित तथा घाइते भएकाहरूको उद्धार र तत्काल स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले मेडिकल टिम परिचालन गरिएको सेनाले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि धुन्चे र त्रिशूलीबाट समेत थप उद्धार टोली परिचालन गरिएको छ। यसअघि नै नेपाली सेनाका दुईवटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रको उद्धार कार्यमा खटिएका थिए।

    बुधबार बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले आसपासका क्षेत्रमा ठूलो जोखिम सिर्जना गरेको छ। बाढीको प्रभाव नुवाकोट हुँदै धादिङसम्म पुगेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता बढाइएको छ।

    बाढीका कारण नदी आसपासका बस्ती तथा संरचनामा जोखिम बढेकाले सम्भावित क्षति न्यूनीकरण र प्रभावित नागरिकको उद्धारका लागि सुरक्षा निकायले जनशक्ति तथा स्रोतसाधन परिचालन गरिरहेका छन्।सेनाले बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप उद्धार तथा राहत टोली परिचालन गर्ने जनाएको छ। घटनाको विस्तृत मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी छ।

    प्रकाशित मिति :भाद्र १०, २०८३ बुधवार - ११:१२:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको