१० भन्दौ काठमाडौं — तिब्बततर्फबाट भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएपछि रसुवादेखि चितवनको मुग्लिनसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ। बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएपछि नदी किनारका बस्ती तथा पृथ्वी राजमार्ग आसपास उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार बुधबार बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो मात्रामा पानीको बहाव प्रवेश गरेको थियो। उक्त बाढी रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तलसम्म पुगेको र माथिल्लो क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक सूचना प्राप्त भएको शाखाले जनाएको छ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रलाई उच्च जोखिममा राखिएको छ। विशेषगरी त्रिशूली नदीको बहाव हुँदै मुग्लिनसम्मको क्षेत्र जोखिममा रहेकाले नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीको बहाव मुग्लिनसम्म पुग्न केही घण्टा लाग्न सक्ने अनुमान गरिएको छ। त्यसैले नदी किनारका बस्तीमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा उचाइ भएका स्थानमा जान विभागले आग्रह गरेको छ।
त्यस्तै, बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग तथा त्रिशूली नदी किनारका अन्य सडकमा अनावश्यक आवागमन नगर्न र सम्भव भएसम्म यातायात रोक्न सुझाव दिइएको छ।
त्रिशूली नदीमा पानीको सतह बढ्दा त्यसमा मिसिने तादी, बूढीगण्डकी, मलेखु लगायतका सहायक नदीमा समेत पानीको बहाव बढ्न सक्ने भएकाले ती नदी आसपासका बासिन्दालाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ।
रसुवाको टिमुरेमा ठूलो क्षति
भोटेकोशीमा आएको भीषण बाढीले रसुवाको टिमुरे र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। टिमुरे भन्सार क्षेत्र तथा आसपासका संरचनामा बाढीले क्षति पुर्याएको जनाइएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार टिमुरे र आसपासका बजार क्षेत्रमा ठूलो क्षति भएको छ। रसुवा भन्सार क्षेत्रमा रहेका गाडी तथा अन्य सामग्रीसमेत बाढीले बगाएको उनले बताएका छन्। बाढीले बजार तथा भन्सार क्षेत्र प्रभावित हुनुका साथै हालै निर्माण सम्पन्न भएको एउटा पुलसमेत बगाएको अधिकारीले जानकारी दिएका छन्। बाढीपछि सम्भावित जोखिममा रहेका नागरिकको उद्धार तथा क्षतिको विवरण संकलनका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको बताइएको छ।
मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक
भोटेकोशीमा आएको बाढीपछि मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठकसमेत बसेको छ। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा बसेको बैठकमा बाढीबाट उत्पन्न जोखिम, उद्धार तथा राहत व्यवस्थापनबारे छलफल भएको जनाइएको छ।
सरकारले भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी किनारमा रहेका बस्ती, सडक तथा पुल आसपासका क्षेत्रमा जोखिम बढेकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
बाढीको कारणबारे अनुसन्धान हुँदै
भोटेकोशीमा आएको बाढी वर्षाका कारण आएको हो वा तिब्बततर्फ हिमताल विस्फोटलगायत अन्य कारणले आएको हो भन्ने विषयमा तत्काल स्पष्ट भइसकेको छैन। सम्बन्धित निकायले घटनाको कारण तथा क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन्।
यसैबीच, नदीको बहाव अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै रसुवादेखि नुवाकोट, धादिङ, गोरखा हुँदै चितवनको मुग्लिनसम्म त्रिशूली नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदीको किनारमा नजान आग्रह गरिएको छ।