१० भन्दौ काठमाडौँ । पछिल्लो समय नदी तथा आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्दै गएपछि प्रहरीले मुग्लिङ क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रहरीले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरेको हो। विशेषगरी नदी किनार, खोला आसपास तथा पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले जोखिम बढेको अवस्थामा घरमै बसिरहनुभन्दा सुरक्षित स्थानमा स्थानान्तरण हुन, अत्यावश्यक कागजात तथा सामग्री सुरक्षित राख्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनालाई ध्यान दिन आग्रह गरेको छ।
मुग्लिङ क्षेत्र हुँदै सञ्चालन हुने यातायातमा समेत बाढी तथा पहिरोका कारण अवरोध आउन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई खबर गर्नसमेत आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, प्रहरी तथा अन्य सुरक्षा निकायले आवश्यक निगरानी बढाएका छन्।