११ भदौ काठमाडौं । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा राहत–उद्धारको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री बालेन्द्र शाह आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री शाह बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गर्नुभएको हो। उहाँसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी हुनुहुन्छ।
हिजो रसुवातर्फको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहनुभएको बताइएको छ।
बाढीपछि प्रधानमन्त्रीले उच्चस्तरीय बैठकहरू आह्वान गरी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। उहाँले विपद् व्यवस्थापनको अवस्थाबारे निरन्तर जानकारी लिँदै आवश्यक समन्वय तथा सहजीकरण गर्दै आउनुभएको जनाइएको छ।
बाढीका कारण नुवाकोटसहित विभिन्न क्षेत्रमा भौतिक संरचना, सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेको अवस्थामा प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर तथा आसपासका प्रभावित बस्तीहरूको स्थलगत निरीक्षण गर्नुहुनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित नागरिकको उद्धार, तत्काल राहत, पुनःस्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्नेछ।
स्थलगत निरीक्षणपछि प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे थप जानकारी प्राप्त हुने र तत्काल गर्नुपर्ने राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका आधारमा अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।
विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, बेपत्ताको खोजी तथा उद्धारलाई तीव्रता दिने र क्षतिग्रस्त सडक तथा अन्य अत्यावश्यक पूर्वाधारलाई यथाशीघ्र सञ्चालनमा ल्याउने विषय प्रधानमन्त्रीको भ्रमणको प्रमुख प्राथमिकतामा रहने बताइएको छ।