११ भदौ काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउण्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
एनसेल फाउण्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। पछिल्लो समय आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको सहयोगका लागि एनसेलले यस्तो सहयोग घोषणा गरेको हो।
बाढीका कारण धेरै स्थानमा जनजीवन प्रभावित हुनुका साथै घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। कतिपय स्थानमा नागरिक सम्पर्कविहीन तथा बेपत्ता भएका कारण खोजी तथा उद्धार कार्यसमेत जारी रहेको अवस्थामा राहत र पुनःस्थापनाका लागि थप सहयोग आवश्यक देखिएको छ।
एनसेल फाउण्डेसनले घोषणा गरेको १ करोड रुपैयाँले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्राकृतिक विपद्को समयमा निजी क्षेत्र तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगले सरकारी उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
एनसेल फाउण्डेसनले विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कठिन परिस्थितिमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।