दोहा, कतार । तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण रसुवालगायत नेपालका विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि कतारमा रहेका नेपाली संघ–संस्थाहरू राहत तथा उद्धार अभियानमा जुट्ने तयारीमा लागेका छन्।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी सहयोग पुर्याउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले आकस्मिक बैठक आह्वान गरेको छ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले कतारमा स्थापित सम्पूर्ण नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, एनआरएनए अभियन्ता, सामाजिक अभियन्ता, व्यवसायी, कलाकार, साहित्यकार, खेलाडी, पत्रकार, पञ्जीकृत सदस्य तथा कतारमा कार्यरत सम्पूर्ण नेपालीलाई बैठकमा सहभागी हुन आग्रह गरेका छन्।
बैठकमा विपद्बाट प्रभावित नागरिकका लागि तत्काल राहत कसरी जुटाउने, संस्थागत तथा व्यक्तिगत सहयोगलाई कसरी व्यवस्थित बनाउने र आगामी राहत तथा पुनःस्थापनाको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।
समाचार :बाबुराम महत ( दोहा, कतार)