११ भदौ दोहा, कतार । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि गोरखा सेवा समाज, कतारले मानवीय सहयोगको आह्वान गरेको छ।
समाजले बिहीबार जारी गरेको अपिलमा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण रसुवालगायत नेपालका विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ। प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
समाजले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको तत्काल उद्धार, खोज तथा राहतलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। त्यसपछि प्रभावित परिवारको पुनःस्थापना, पुनर्निर्माण तथा दीर्घकालीन सहयोगका लागि निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ।
कतारमा रहेका नेपालीहरू पनि नेपालमा परेको पीडासँग भावनात्मक रूपमा जोडिएको उल्लेख गर्दै समाजले व्यक्तिगतभन्दा संस्थागत तथा सामूहिक रूपमा एकीकृत भएर आर्थिक सहयोग जुटाई पीडितसम्म प्रभावकारी ढंगले पुर्याउने उद्देश्य राखेको जनाएको छ।
गोरखा सेवा समाज, कतारले सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावलाई आफूले सक्ने सहयोग समाजमार्फत उपलब्ध गराइदिन हार्दिक अपिल गरेको छ। प्राप्त सहयोगलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा विपद् प्रभावित क्षेत्रमा पुर्याउने प्रतिबद्धता पनि समाजले व्यक्त गरेको छ।
“विपद्मा परेका नेपालीका लागि कतारबाट एकजुट हुँदै सहयोग गरौँ” भन्ने भावनासहित समाजले सबैलाई मानवीय अभियानमा सहभागी हुन आग्रह गरेको छ।
गोरखा सेवा समाज, कतार
अध्यक्ष : विकास श्रेष्ठ
महासचिव : रुद्र भट्ट