१२ भदौ काठमाडौं — गोरखा ताकुकोट सेवा समाज, काठमाडौंको आयोजनामा भोलि हुने गाईजात्रा–२०८३ देशको वर्तमान विषम तथा दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष सांकेतिक तथा मर्यादित रूपमा सम्पन्न गरिने भएको छ।
समाजले यस वर्ष गाईजात्रा कार्यक्रम साबिकको रुटमा प्रदर्शन नगर्ने निर्णय गरेको गोरखा ताकुकोट सेवा समाज, काठमाडौंका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनु भयो । देशमा पछिल्लो समय देखिएको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै गाईजात्रालाई भव्य उत्सवका रूपमा नभई दिवंगत आत्माहरूको सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको समाजले जनाएको हो।
समाजका अनुसार यस वर्ष दिवंगत हुनुभएका सम्पूर्ण आत्माहरूका साथै भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनुभएका मृतकहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै गाईजात्रा प्रदर्शन गरिनेछ।
गाईजात्राको रुट परिवर्तन
यस वर्ष गाईजात्राको प्रदर्शन रुटसमेत परिवर्तन गरिएको छ। निर्धारित नयाँ रुटअनुसार गाईजात्रा अक्सफोर्ड ड्राइभिङ सेन्टरको ग्राउण्डबाट प्रारम्भ भई नजिकै रहेको गणेश मन्दिर (ड्राइभिङ छिर्ने चोकको मन्दिर) सम्म पुग्नेछ। त्यसपछि पुनः अक्सफोर्ड ड्राइभिङ सेन्टरको ग्राउण्डमा फर्किएर गाईजात्रा प्रदर्शन गरिनेछ।गाईजात्रा बिहान ११ः०० बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने समाजले जनाएको छ।
मर्यादित र सांकेतिक रूपमा सहभागी हुन आग्रह
गोरखा ताकुकोट सेवा समाज, काठमाडौंले देशको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण सहभागी तथा शुभेच्छुकहरूलाई गाईजात्रा शान्तिपूर्ण, अनुशासित, मर्यादित एवं सांकेतिक रूपमा सम्पन्न गर्न आग्रह गरेको छ।
समाजले गाईजात्रामार्फत नेपाली मौलिक संस्कृति तथा परम्पराको संरक्षणसँगै दिवंगत आत्माहरूप्रति सम्मान, भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र विपद्को समयमा सामाजिक एकताको सन्देश प्रवाह गर्ने जनाएको छ।
दुःखद् परिस्थितिबीच पनि सांस्कृतिक परम्पराको निरन्तरता कायम राख्दै यस वर्षको गाईजात्रालाई श्रद्धा, संवेदना र सामाजिक एकताको पर्वका रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ।