१५ भदौ काठमाडौँ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका ३५ वटा पुलमा क्षति पुर्याएको छ। बाढीको तीव्र बहावले कतिपय पुलका पिल्लरसमेत बगाएको छ भने केही पुलमा आंशिक क्षति पुगेको छ।
बाढीका कारण विभिन्न क्षेत्रको आवागमन प्रभावित भए पनि धादिङको गल्छीमा रहेको पुल भने जोगिएको छ। यही पुल अहिले नुवाकोट, रसुवा तथा धादिङतर्फका गाउँमा पुग्ने मुख्य वैकल्पिक मार्ग बनेको छ।
गल्छीको पुल हुँदै स्थानीय बासिन्दाका साथै राहत तथा उद्धारका लागि खटिएका टोलीहरू प्रभावित क्षेत्रमा पुगिरहेका छन्। बाढीबाट अवरुद्ध भएका सडक तथा पुलका कारण प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन चुनौती देखिए पनि उपलब्ध वैकल्पिक मार्ग प्रयोग गरी आवतजावत भइरहेको छ।
नुवाकोटका विभिन्न पालिकामा पुग्नसमेत गल्छीको पुल हुँदै वैकल्पिक बाटो प्रयोग भइरहेको छ। बाढीले क्षतिग्रस्त पुलहरूको पुनःनिर्माण तथा मर्मत नहुँदासम्म यही मार्ग प्रभावित क्षेत्रका लागि महत्वपूर्ण सम्पर्कमार्गका रूपमा रहने देखिएको छ।