१५ भदौ काठमाडौं । ‘कमन जेनजी नेपाल’ले आगामी भदौ २३ गतेका लागि घोषणा गरेको जेन्जी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। देश शोकमा रहेका बेला आन्दोलनका कार्यक्रम स्थगित गर्दै बाढी प्रभावितको उद्धार तथा राहतमा जुट्ने प्रतिबद्धता जेनजी युवाहरूले जनाएका छन्।
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले पूर्वघोषित संघर्षका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन्।
भदौ १० गते आएको बाढीपछि अध्यक्ष साहसहित जेनजी युवाहरू नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्यमा सहभागी हुँदै आएका छन्। उनीहरूले अब आन्दोलनभन्दा बाढीपीडितको सहयोगलाई प्राथमिकतामा राख्ने बताएका छन्।
अध्यक्ष साहले प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमा सीमित नभई प्रभावित जिल्लामा प्रत्यक्ष पुग्न आग्रह गरेका छन्। प्रधानमन्त्री नुवाकोट पुगे पनि अन्य प्रभावित जिल्लामा पुग्न नसकेको भन्दै उनले राहत तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन सरकारको सक्रियता बढाउन सुझाव दिएका छन्।