१५ भदौ काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीसँगै कृष्णभीर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। नदीको सतहदेखि नै ठूलो पहिरो खसेर सडकमा गम्भीर क्षति पुगेपछि सोही स्थानबाट सडक सञ्चालनका लागि स्थायी मर्मत तथा पुनर्निर्माण आवश्यक पर्ने भएको छ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार क्षतिको विस्तृत अध्ययन, डिजाइन तथा टेन्डर प्रक्रियापछि मात्रै पुनर्निर्माण अघि बढाउनुपर्ने भएकाले सडक खुल्न लामो समय लाग्न सक्छ। उनका अनुसार दशैंअघि कृष्णभीरबाटै सडक सञ्चालनमा आउने सम्भावना निकै कम छ।
यसअघि नै कृष्णभीरलाई पहिरोको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी जोखिम न्यूनीकरणको काम भइरहेको थियो। भर्टिकल पाइलिङको काम पूरा भइसकेको थियो भने होरिजन्टल एन्करिङको काम बर्खापछि गर्ने तयारी थियो। तर, काम पूर्णरूपमा सम्पन्न नहुँदै आएको ठूलो पहिरोले सडकमा थप क्षति पुर्याएको हो।
सडक तत्काल खुल्ने अवस्था नरहेपछि यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज बनाउन वैकल्पिक मार्गको खोजी तीव्र पारिएको छ। प्राविधिक टोलीले विभिन्न सम्भावित रुटको निरीक्षण गरिरहेका छन्। निरीक्षणपछि छोटो, सुरक्षित र व्यावहारिक मार्गलाई वैकल्पिक रुटका रूपमा अघि बढाइने सडक योजनाले जनाएको छ।