१६ भदौ काठमाडौँ । भदौ १० गते रसुवा हुँदै आएको बाढीका कारण धादिङ जिल्लाका बैरेनी, मलेखु लगायतका विभिन्न क्षेत्रमा डुबान तथा बाढीबाट ठूलो क्षति पुगेपछि वाईसिएल नेपाल धादिङले निरन्तर उद्धार, राहत तथा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ।
बाढीका कारण घरहरू बग्नुका साथै स्थानीय बस्ती, सडक तथा सार्वजनिक क्षेत्रमा क्षति पुगेका प्रभावित क्षेत्रमा वाईसिएल नेपालका स्वयंसेवकहरू परिचालन भएका छन्। स्वयंसेवकहरूले प्रभावित नागरिकको उद्धार, राहत वितरण, सरसफाइ तथा आवश्यक सहयोगका कामलाई निरन्तरता दिँदै आएका छन्।
वाईसिएल नेपालले धादिङमा मात्रै नभई रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित विभिन्न क्षेत्रमा आफ्ना स्वयंसेवक तथा संगठनका सदस्यहरूलाई उद्धार, राहत तथा मानवीय सहयोगका लागि परिचालन गरेको जनाएको छ।
वाईसिएल नेपाल केन्द्रीय सचिव तथा प्रवक्ता धिरज उपरकोटीले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले संगठनका स्वयंसेवकहरू देशका विभिन्न बाढी प्रभावित क्षेत्रमा परिचालन भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार विपद्का बेला पीडित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै उद्धार, सरसफाइ तथा दैनिक आवश्यकताका काममा प्रत्यक्ष रूपमा सहभागी हुने गरी वाईसिएल नेपालका टोलीहरू निरन्तर खटिरहेका छन्।
“विपद्को समयमा राजनीति भन्दा माथि उठेर नागरिकको जीवन, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै वाईसिएल नेपालका स्वयंसेवकहरू प्रभावित क्षेत्रमा निरन्तर खटिरहेका छन्,” प्रवक्ता उपरकोटीले बताउनुभयो।
बाढीका कारण प्रभावित क्षेत्रमा फोहोर तथा बाढीजन्य सामग्री थुप्रिँदा सरसफाइमा समेत समस्या देखिएपछि स्वयंसेवकहरूले प्रभावित बस्ती तथा सार्वजनिक क्षेत्रमा सरसफाइ अभियानलाई पनि प्राथमिकता दिएका छन्।
वाईसिएल नेपालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थानीय आवश्यकता र अवस्थाअनुसार उद्धार, राहत, सरसफाइ तथा स्वयंसेवी सहयोगलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग आवश्यक रहेको भन्दै वाईसिएल नेपालले उपलब्ध स्रोत, जनशक्ति तथा स्वयंसेवक परिचालन गरी मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।