१८ भदौ काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले २८ लाख ५९ हजार ६ सय १५ रुपैयाँ योगदान गर्ने भएको छ।
गाउँपालिकाले बाढीमा परी सम्पर्कविहीन भएका आफ्ना ६ जना नागरिकका परिवारलाई खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रतिपरिवार ३५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गाउँपािलका प्रवक्ता जित बहादुर नेपालीले जानकारी दिनु भयो ।
गाउँपालिकाले भाद्र १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हालसम्म सम्पर्कविहीन तथा हराइरहेका नागरिकको यथाशीघ्र खोज तथा उद्धारका लागि सम्बन्धित सबै निकायसँग आग्रह गरि रहेको गाउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बताउनु भयो ।
गाउँपालिकाका अनुसार सम्पर्कविहीन ६ जना नागरिकका आफन्तको खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ। विपद्को यस घडीमा प्रभावित परिवारलाई साथ दिने उद्देश्यले प्रतिपरिवार ३५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता गाउँपालिकाले जनाएको हो।
त्यस्तै, बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिकबाट समेत रकम योगदान गर्ने निर्णय गरिएको छ।
पालिकाको निर्णयअनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ७ दिनको पारिश्रमिक तथा अन्य जनप्रतिनिधिले ५ दिनको पारिश्रमिक योगदान गर्नेछन्। अधिकृतस्तरका कर्मचारीले ७ दिन, सहायकस्तरका कर्मचारीले ५ दिन र श्रेणीविहीन कर्मचारीले २ दिनको पारिश्रमिक योगदान गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, सामुदायिक विद्यालयतर्फ विभिन्न तहका शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट पनि ७, ५ र २ दिन बराबरको रकम योगदान गरिने गाउँपालिकाले जनाएको छ। शिक्षक तथा कर्मचारीबाट हुने योगदानसहित जम्मा २८ लाख ५९ हजार ६ सय १५ रुपैयाँ बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाको तर्फबाट जम्मा गरिनेछ।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्न सबै सरोकारवाला निकायलाई आग्रहसमेत गरेको छ।