१८ भदौ काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक अवरुद्ध हुने गरी गएको पहिरो पन्छाउने काम तीव्र पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम सुरु गरेको जनाएको छ।
मन्त्रालयका अनुसार पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्। रुख कटानको काम सम्पन्न हुनेबित्तिकै उपकरण परिचालन गरी पहिरो हटाउने कार्य अघि बढाइनेछ।
सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ। पहिरोका कारण पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा समेत असर परेको छ।
सडक अवरुद्ध भएपछि यात्रुहरूले आवतजावतमा सास्ती खेपिरहेका छन् भने दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने चिन्ता बढेको छ। लामो समय सडक अवरुद्ध रहे बजारमा कृत्रिम अभाव सिर्जना भई मूल्यवृद्धिको जोखिमसमेत बढ्न सक्ने बताइएको छ। मन्त्रालयले सडक यथाशीघ्र सञ्चालनमा ल्याउने उद्देश्यले आवश्यक जनशक्ति र उपकरण परिचालन गरी पहिरो पन्छाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।