१८ भदौ काठमाडौँ । रसुवामा आएको भीषण बाढीपछि बागमती प्रदेश सरकारले उद्धार, राहत, यातायात व्यवस्थापन तथा पुनर्स्थापनाका काम तीव्र रूपमा अघि बढाएको दाबी गरेको छ। प्रदेश सरकारका अनुसार बाढीपछि तीन तहका सरकारबीच समन्वय गरी प्रभावितको उद्धार, आश्रय तथा खानपानदेखि सडक, पुल, अस्पताल र सञ्चार सेवा सञ्चालनसम्मका कामलाई प्राथमिकतामा राखिएको छ।
प्रदेश सरकारका अनुसार भाद्र १० गते साँझ नुवाकोटको विदुरमा स्थलगत निरीक्षण गरी संघ तथा स्थानीय तहका अधिकारीहरूसँग छलफल गरिएको थियो। भाद्र ११ गते बिहान ७ः१५ बजे तीन तहका अधिकारीबीच समन्वय बैठक गरी उद्धार गरिएकालाई चार स्थानमा आश्रयको व्यवस्था गरिएको र खानपानका साथै चार स्थानमा हेल्थ क्याम्प सञ्चालन गरिएको थियो।
भाद्र ११ गते विदुरमा सम्पर्क तथा समन्वय केन्द्र स्थापना गरी उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन पाँच विषयगत कार्यदल गठन गरिएको प्रदेश सरकारको दाबी छ। सोही दिन दिउँसो १ः३० बजे हेटौँडास्थित प्रदेश सरकारको गोदाममा रहेका २८० थान त्रिपाल, ५० थान टेन्ट र १७० सेट गैरखाद्य सामग्री उपलब्ध गराइएको थियो।
मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश सरकारको टोली धुन्चे प्रस्थान गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएको थियो। विदुरबाट काठमाडौं जान चाहने करिब १०० नागरिकको आवागमन व्यवस्थापनसमेत गरिएको प्रदेश सरकारले जनाएको छ।
भाद्र १२ गते रसुवा र नुवाकोटमा सर्वपक्षीय बैठक गरी उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गरिएको थियो। अस्पताल, यातायात र टेलिकम सेवा सञ्चालनका लागि ४०० लिटर डिजेल र २०० लिटर पेट्रोल उपलब्ध गराइएको प्रदेश सरकारको भनाइ छ।
उद्धार, राहत तथा पुनर्स्थापनाका लागि थप १० जना अधिकृत कर्मचारी परिचालन गरिएको छ। स्थानीय तहसँग बाढीबाट भएको क्षति तथा आवश्यक राहतको विवरण माग गरी सोही आधारमा थप काम अघि बढाइएको प्रदेश सरकारले जनाएको छ।
बाढीका कारण ४० भन्दा बढी पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज, झोलुङ्गे पुल र तुइन निर्माणका लागि सम्भाव्यता अध्ययन तथा प्राथमिकता निर्धारण गरिएको छ। अत्यावश्यक स्थानमा वैकल्पिक आवागमन सहज बनाउन संरचनाको द्रुत निर्माण कार्यसमेत अघि बढाइएको प्रदेश सरकारको दाबी छ।
त्यस्तै, धुन्चे–महभीर, चौगटे–काठमाडौं र विदुर–काठमाडौं रुटमा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ। धुन्चेसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने, प्रभावित तथा अलपत्र यात्रुका लागि खानपानको व्यवस्था गर्ने र अवरुद्ध सडक सफाइ गरी यातायात सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिइएको प्रदेश सरकारले जनाएको छ।
प्रदेश सरकारले आफ्ना कर्मचारीलाई निरन्तर उद्धार, राहत तथा पुनर्स्थापनाको काममा खटिन निर्देशन दिएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै यातायात, स्वास्थ्य, सञ्चार र अत्यावश्यक सेवा सञ्चालनमा ल्याउन प्रदेश सरकारको संयन्त्र सक्रिय रहेको तथा पुनर्स्थापनाका कामलाई समेत प्राथमिकताका साथ अघि बढाइएको प्रदेश सरकारको दाबी छ।