Logo

शुक्रवार, भाद्र २६ गते २०८३

कृष्णभिरको नयाँ ट्र्याक कहिले खुल्ने अनिश्चित, गोरखातर्फको वैकल्पिक सडक मर्मत तीव्र

कृष्णभिरको नयाँ ट्र्याक कहिले खुल्ने अनिश्चित, गोरखातर्फको वैकल्पिक सडक मर्मत तीव्र

जोईन खबर

१८, भाद्र २०८३
  • 298
    SHARES
  • कृष्णभिरको नयाँ ट्र्याक कहिले खुल्ने अनिश्चित, गोरखातर्फको वैकल्पिक सडक मर्मत तीव्र

    १८ भदौ काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएको लामो समय बितिसक्दा पनि मुख्य सडक कहिले सञ्चालनमा आउने यकिन हुन सकेको छैन। भासिएको सडकभन्दा माथिल्लो क्षेत्रमा नयाँ ट्र्याक खोल्न आजदेखि रुख कटान सुरु गरिए पनि ट्र्याक निर्माण सम्पन्न भएर कहिले यातायात सञ्चालनमा आउने भन्नेबारे स्पष्ट समयसीमा छैन।

    images

    नयाँ ट्र्याक दीर्घकालीन रूपमा समेत प्रभावकारी हुने वा नहुने विषय अहिले नै यकिन गर्न नसकिने अवस्था रहेको छ। यस्तो अवस्थामा त्रिशूली नदीपारि गोरखातर्फबाट रहेको वैकल्पिक सडकलाई तत्कालीन विकल्पका रूपमा प्रयोग गर्न थालिएको छ।

    बेनिघाट–दर्बुङ–रानीस्वाँरा–दलभञ्ज्याङ–फिस्लिङ सडकखण्डलाई पृथ्वी राजमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने भएको हो। केही दिनअघिसम्म साँघुरो र असहज रहेको उक्त सडकमा अहिले मर्मत तथा स्तरोन्नतिको काम तीव्र पारिएको छ।

    विगत तीन–चार दिनदेखि यस सडकमा साना चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन भइरहेका छन्। सडकको अवस्था सुधार हुँदै गएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा अत्यावश्यक सेवाका सवारीसाधनलाई वैकल्पिक मार्ग उपलब्ध हुने अपेक्षा गरिएको छ।

    विशेषगरी गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारदेखि दर्बुङफाँटसम्मको सडक ग्राभेल गर्ने काम तीव्र गतिमा भइरहेको छ। उक्त खण्डमा ग्राभेल गर्ने काम अब एक–दुई दिनभित्र सम्पन्न हुने बताइएको छ।

    कृष्णभिरमा मुख्य राजमार्गको नयाँ ट्र्याक खोल्ने कामको समयसीमा स्पष्ट नभएको अवस्थामा गोरखातर्फको वैकल्पिक सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने कामलाई प्राथमिकता दिइएको छ। सिउरेनीटार–दर्बुङफाँट सडकमा ग्राभेल सम्पन्न भएपछि वैकल्पिक मार्गमा सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

    मुख्य राजमार्गको सञ्चालनमा अझै अनिश्चितता कायम रहेकाले गोरखातर्फको वैकल्पिक सडकको मर्मत तथा स्तरोन्नति तत्कालीन आवागमन व्यवस्थापनका लागि महत्वपूर्ण हुने देखिएको छ।

    प्रकाशित मिति :भाद्र १८, २०८३ बिहिवार - १३:२०:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको