१८ भदौ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार तथा राहत वितरणका लागि छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले पार्टी कार्यालयमा संकलित राहत सामग्री सरकारको एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको हो।
रास्वपा सचिवालय सदस्य लिमा अधिकारीका अनुसार पार्टीले संकलन गरेका राहत सामग्री सरकारले काठमाडौंमा तोकेका चार स्थानमा बुझाउने तयारी गरेको छ। सरकारको संयन्त्रमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउने गरी पार्टीले सहकार्य गर्ने निर्णय गरेको उनले जानकारी दिइन्।
तत्कालीन उद्धार तथा राहतको काम सकिएपछि रास्वपाका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू पीडितको घरदैलोमा पुग्ने योजना पनि बनाइएको छ। प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गरी राहत वितरण तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने पार्टीले जनाएको छ।
बैठकमा अर्थमन्त्रीले विपद् व्यवस्थापनका सम्बन्धमा सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए। बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भइरहेको सरकारी पहलका विषयमा बैठकमा छलफल भएको थियो।
यसैबीच, बैठकमा सभापतिबाट मनोनित पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई शपथसमेत गराइएको छ।बैठकमा पार्टीका आन्तरिक तथा प्राविधिक विषय, जिम्मेवारी हेरफेर र नयाँ प्रवक्ता तोक्नेलगायत विषयमा पनि छलफल भएको अधिकारीले बताइन्।
रास्वपाले विपद्का बेला छुट्टै पार्टी संयन्त्रमार्फत राहत वितरण गर्नुको सट्टा सरकारी एकद्वार प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने नीति लिएको जनाएको छ। तत्कालीन राहतपछि भने पार्टीका जनप्रतिनिधि र केन्द्रीय सदस्यलाई प्रभावित क्षेत्रमा परिचालन गरी पुनर्स्थापनाका काममा सहयोग गर्ने तयारी गरिएको छ।