Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बाढी प्रभावित क्षेत्रमा प्रचण्ड, सर्वदलीय बैठकबाट स्थानीयका समस्या सुने

बाढी प्रभावित क्षेत्रमा प्रचण्ड, सर्वदलीय बैठकबाट स्थानीयका समस्या सुने

जोईन खबर

२७, भाद्र २०८३
  • 436
    SHARES
  • बाढी प्रभावित क्षेत्रमा प्रचण्ड, सर्वदलीय बैठकबाट स्थानीयका समस्या सुने

    २७ भदौ काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको टोलीले बाढी तथा पहिरो प्रभावित धादिङ, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रभावित नागरिकका समस्या र आवश्यकताबारे जानकारी लिएको छ।

    images

    टोलीमा पूर्वगृहमन्त्री शक्ति बस्नेत, पूर्वसंघीय मन्त्री हितबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद शालिकराम जमरकट्टेल, बागमती प्रदेशका अर्थमन्त्री सरल यात्री, प्रदेश सांसदहरू राधिका तामाङ र रामप्रसाद ढुंगानालगायत पार्टीका जिल्ला नेता, जनप्रतिनिधि तथा वाईसिएल नेपालका करिब ३०० युवाको सहभागिता थियो।

    images
    images
    images

    टोलीले धादिङको गजुरी र गल्छीदेखि नुवाकोटको बेलकोट, त्रिशूली र बट्टार हुँदै रसुवाको भैँसे–बिन्द्रावती क्षेत्रसम्म पुगेर बाढी तथा पहिरोबाट भएको क्षतिको अवस्था अवलोकन गरेको हो। निरीक्षणका क्रममा प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, तत्काल आवश्यक राहत तथा पुनःस्थापनाका विषयमा जानकारी लिइएको थियो।

    स्थलगत निरीक्षणकै क्रममा वाईसिएल नेपालले नुवाकोटको बेलकोट क्षेत्रमा बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणको काम सुरु गरेको छ। आवास निर्माणका लागि आवश्यक फलामलगायत सामग्री अध्यक्ष प्रचण्डले हस्तान्तरण गरेका थिए।

    यसैबीच, नुवाकोट जिल्ला समन्वय समितिको कार्यालयमा सर्वदलीय राजनीतिक छलफलसमेत गरिएको थियो। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्व, स्थानीय तहका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, जनप्रतिनिधि तथा सरोकारवालाहरू सहभागी थिए।

    बैठकमा बाढी तथा पहिरोबाट भएको क्षति, राहत वितरण, प्रभावित परिवारको पुनःस्थापना, सडक तथा पूर्वाधार पुनर्निर्माण र तत्कालीन तथा दीर्घकालीन आवश्यकताबारे स्थानीय तह तथा राजनीतिक दलका प्रतिनिधिबाट स्थलगत रिपोर्ट र सुझाव लिइएको थियो।

    सहभागीहरूले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, युवा संगठन तथा सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको बताएका थिए।

    बाढी आएको दिनदेखि नै प्रभावित क्षेत्रमा श्रमदान तथा राहत अभियानमा सक्रिय रहँदै आएको वाईसिएल नेपालले अब अस्थायी आवास निर्माणसँगै प्रभावित बस्तीको पुनःस्थापना तथा पुनर्निर्माणमा समेत जनशक्ति परिचालन गर्ने जनाएको छ।

    प्रकाशित मिति :भाद्र २७, २०८३ शनिवार - १९:३४:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको