३० भदौ काठमाडौं — छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै रसुवा बाढीबाट उद्धार गरिएका व्यक्तिको अन्तर्वार्ता लिएको विषय प्रतिनिधिसभामा उठेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद समीक्षा बास्कोटाले आईसीयूमै पुगेर अन्तर्वार्ता लिनु र त्यसका लागि अनुमति दिनु दुवै गम्भीर विषय भएको बताइन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले आईसीयू अस्पतालको अत्यन्त संवेदनशील कक्ष भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइनुपर्ने बताइन्। उनले मानिसको जीवनभन्दा ठूलो अन्य कुनै विषय हुन नसक्ने धारणा राखिन्।
‘दुई दिन अगाडि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको छ,’ उनले भनिन्।रसुवा बाढीका क्रममा माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै अन्तर्वार्ता लिइएको थियो। उक्त अन्तर्वार्ता ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। सांसद बास्कोटाले यस्तो संवेदनशील कक्षमा अन्तर्वार्ता लिनुका साथै त्यसका लागि स्वीकृति दिनुमा सम्बन्धित पक्षको जिम्मेवारीमाथि प्रश्न उठाएकी छन्।
यस विषयमा प्रेस काउन्सिल नेपालले समेत यसअघि ध्यानाकर्षण भएको जनाएको थियो। काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गर्दै आईसीयूजस्तो संवेदनशील स्थानमा अन्तर्वार्ता लिइएको विषयमा ध्यानाकर्षण भएको बताएका थिए।आईसीयूमा रहेका बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता र उपचारको संवेदनशीलतालाई ध्यानमा राख्दै पत्रकारिता तथा सञ्चारका गतिविधि सञ्चालन गर्नुपर्ने विषय अहिले थप बहसमा आएको छ।