३१ भदौ काठमाडौं — सर्वोच्च अदालतको निर्माणाधीन भवनमा बुधबार फेरि आगलागी भएको छ। अदालतको मुद्दा फाँटतर्फ रहेको मल्टिप्लगमा विद्युत् सर्ट भएपछि बन्द कोठाभित्र आगलागी भएको सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आगलागीबाट एउटा टेबल र तीन थान कम्प्युटर जलेका छन्। तर, महत्वपूर्ण मिसिल तथा कागजातमा भने क्षति नभएको उनले जानकारी दिए।
‘मुद्दा फाँटको मल्टिप्लगमा विद्युत् सर्ट भएर आगलागी भएको हो। बन्द कोठाभित्र आगो लागेको थियो। ठूलो क्षति भएको होइन,’ प्रवक्ता कोइरालाले भने।आगलागीको सूचना पाएलगत्तै प्रहरी तथा दमकलको टोली घटनास्थलमा पुगेको थियो। टोलीले तत्काल आगो नियन्त्रणमा लिएको बताइएको छ।
सर्वोच्च अदालतमा यसअघि पनि भदौ १७ गते आगलागी भएको थियो। त्यतिबेला अदालतको अभिलेख शाखामा आगलागी भएको थियो। उक्त घटनाबारे छानबिन भइरहेकै बेला बुधबार पुनः अर्को आगलागी भएको हो।
यसअघि जेनजी आन्दोलनका क्रममा समेत सर्वोच्च अदालतमा आगजनी हुँदा ठूलो भौतिक क्षति भएको थियो। पछिल्लो समय अदालत परिसरमा लगातार आगलागीका घटना भएपछि सुरक्षासहित विद्युत् व्यवस्थापनबारे समेत प्रश्न उठेको छ।