२ असोज काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री रहेका बेला भारतबाट मुर्रा जातका भैंसी तथा राँगा ल्याउने पहललाई सामान्य विषयका रूपमा नलिन आग्रह गरेका छन्।
नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूले भारतबाट मुर्रा भैंसी ल्याएको विषयलाई लिएर विरोधीहरूले खिल्ली उडाउने गरेको भए पनि त्यसका पछाडि किसानको जीवनस्तर सुधार र कृषि क्षेत्रको विकाससँग जोडिएको उद्देश्य रहेको दाबी गरे।उनले मुर्रा भैंसी ल्याउने विषय लामो समयदेखि प्रयास भए पनि अघि बढ्न नसकेको विषय भएको बताए।
‘मुर्रा भैंसी ल्याउने कुरा चानचुने थिएन । दशौँ वर्षदेखि अरुले नसकेको कुरा थियो त्यो,’ प्रचण्डले भने, ‘त्यो मुर्रा भैंसी ल्याउने कुरा किसानको जीवनमा परिवर्तन ल्याउने कुरासँग नै सम्बन्धित थियो।’
भारत भ्रमणका क्रममा मुर्रा भैंसी ल्याएको विषयलाई लिएर आफूविरुद्ध आलोचना तथा व्यंग्य गरिएको उल्लेख गर्दै उनले त्यसलाई किसानको हितमा गरिएको पहलका रूपमा व्याख्या गरे। भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगा तथा भैंसी उपलब्ध गराउने सहमति प्रचण्डको भारत भ्रमणका क्रममा भएको थियो।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कृषि तथा किसानसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरे। उनले पछिल्लो सरकारको बजेटमा कृषि क्षेत्रमा लगानी बढाउने र किसानलाई उत्पादनमा उत्प्रेरित गर्ने विषयलाई प्राथमिकता दिइएको बताए।
‘हामीले विगतमा धेरै गर्न नसकेको भए पनि पछिल्लो सरकारमा हुँदाखेरिको बजेट हेर्नुभयो भने, कृषि क्षेत्रमा कसरी लगानी बढाउने र किसानहरूलाई कसरी उत्प्रेरित गर्ने भन्नेमा थियो,’ उनले भने।
उनले किसान तथा कृषि क्षेत्रसँग सम्बन्धित विषयमा ध्यान दिन पनि किसान महासंघका नेता तथा कार्यकर्तालाई आग्रह गरे।प्रचण्डले कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर सुधार तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कृषि क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेको बताए।