११ असोज काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट खुलातर्फ गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेसहित १० जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्।
खुलातर्फ निर्विरोध निर्वाचित हुनेमा सुरेन्द्रराज पाण्डे, मोहनप्रकाश पोखरेल, प्रकाशचन्द्र दवाडी, दीपकबाबु कँडेल, ईमानसिं बस्नेत, गोविन्द गुरुङ, सलाउद्दिन मियाँ, बलराम खड्का, राजु थापा र भागवत रेग्मी रहेका छन्।निर्धारित समयभित्र खुलातर्फ आवश्यक संख्यामा मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्। निर्विरोध चयनसँगै गोरखा–२ बाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रतिनिधित्व गर्ने नेताहरूको टुंगो लागेको छ।
महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित प्रकाशचन्द्र दवाडी २०७४ सालको निर्वाचनमा गोरखा–२ _प्रदेश ‘ख’ बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभा सदस्यका रूपमा उनले गण्डकी प्रदेशमा राजनीतिक तथा संसदीय भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, इन्जिनियर दीपकबाबु कँडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट पालुङटार नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए। स्थानीय तहमा नेतृत्व सम्हालिसकेका कँडेल पनि यसपटक महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। गोरखा–२ बाट मुख्यमन्त्री पाण्डेसहित पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हालिसकेका नेताहरू महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि कांग्रेसको आगामी महाधिवेशनमा यस क्षेत्रको प्रतिनिधित्व महत्वपूर्ण रहने देखिएको छ।
निर्विरोध निर्वाचित प्रतिनिधिहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीच एकता र सहकार्य कायम गर्ने तथा कांग्रेसलाई आगामी दिनमा थप प्रभावकारी बनाउने विषयमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।