१२ असोज काठमाडौँ ।अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा। स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ। कतारको दोहामा जारी एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउसँग नेपालमा बैंकको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तारका विषयमा छलफल गरेका हुन्।भेटका क्रममा अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणका लागि एआईआईबीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
अध्यक्ष जोउले एआईआईबीको ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने जानकारी दिइन्। उक्त फन्डअन्तर्गत प्राप्त अनुदानलाई उपयोग गरी नेपाललाई उपलब्ध गराइने एआईआईबी ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा पनि उनले राखिन्।
उनले संस्थापक सदस्य राष्ट्र नेपालसँग आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्याइन्।
सो अवसरमा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई बधाई दिँदै संस्थापक सदस्य राष्ट्रका रूपमा नेपाललाई एआईआईबीले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले एआईआईबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकसम्बन्धी अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे।मन्त्री वाग्लेले एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको पुनर्निर्माण र पूर्वाधार विकासमा थप सहयोग आवश्यक रहेको बताए।
उनले मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासका लागि एआईआईबीको आफ्नै स्रोतसँगै अन्य दातृ निकायका स्रोतसमेत परिचालन गर्न आग्रह गरे।भेटवार्ताका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्।
नेपालले पछिल्लो समय प्राकृतिक विपद्का कारण क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणसँगै ऊर्जा, सडक, डिजिटल पूर्वाधार तथा सीमापार प्रसारण प्रणालीमा लगानी विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ। एआईआईबीसँगको सहकार्यले यस्ता क्षेत्रमा दीर्घकालीन तथा सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।